पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तिलोत्तमाका दुग्ध उत्पादकलाई झण्डै ४६ लाख अनुदान

रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ प्राप्त गरेका छन् ।

अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् विक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

मंगलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत् किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैंयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरील बताउनुभयो ।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैंयाँ प्राप्त गरेको छ । 

गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैंयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् विक्री वितरण हुने भएको छ ।

अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताउनुभयो ।