पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरिया र इजरायलबिच विवाद रहेको क्षेत्रमा नेपाली शान्ति सैनिकहरू तैनाथ

radionepal

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको The United Nations Disengagement Observer Force (UNDOF)  अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरूले मध्यपुर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो कठ्याङ्ग्रिँदो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गर्दै आइरहेका छन् । 

यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबिच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरू तैनाथ गरिएका छन् । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो सङ्ख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहहरूको चलखेल पनि बढी नै हुने गर्दछ । 

करिब ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरू मुस्ताङ जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला (Mountain Warfare) सम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । 

सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको उक्त इलाकामा हिंउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु सञ्चालन गरिने बताइन्छ । 

नेपाली शान्ति सैनिकहरूले विश्वका द्धन्द्धग्रस्त राष्ट्रहरूमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारबाहीको परिणाम स्वरूप सिरिया स्थित UNDOF मिसनको फोर्स कमान्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति हुनु भई आफ्नो कार्यभार पुरा गरिसक्नु भएको छ भने हाल रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत हुनुहुन्छ ।

नेपाली शान्ति सैनिकको सबैभन्दा ठुलो उपस्थिति रहेको उक्त मिसनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वको कारण बिद्रोहीहरुबाट क्षति पुर्‍याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनः निर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इन्जिनियर टिम पनि कार्यरत छ । 

नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनीयताको कारण मिसनमा नेपाली शान्ति सैनिकहरूको संयुक्त राष्ट्र सङ्घ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुँदै आइरहेको छ ।