पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गण्डकी प्रदेशद्वारा प्रदेश १ पराजित

अजय बम, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले प्रदेश एकमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

जितका लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । 

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक २७.४ ओभरमा १ सय २ रनमा अल आउट भएको थियो । 

गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो । तेस्रो खेलमा गण्डकीले मंगलबार कर्णालीसँग मुलपानीमै खेल्ने छ । प्रदेश एक पहिलो खेलमा एपीएफसँग १ सय ३५ रनले पराजित भएको थियो । तेस्रो खेलमा प्रदेश एकले आर्मीसँग बुधबार मुलपानीमा खेल्ने छ ।

दोस्रो खेलमा वागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । जितसँगै वागमतीले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । वागमतीले खेलमा सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ९९ रन बनायो । 

जवाफमा सुदुरपश्चिम प्रदेश २१ ओभरमा १ सय १९ रनमा अलआउट भयो । जीतसँगै वागमतीले २ खेलमा ४ अंक जोडेको छ । वागमती समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।

वागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो । सुदूरपश्चिमको भने यो पहिलो खेल हो । पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेको छ ।