पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नाग्म–गमगडी सडक सुधार हुँदै, यात्रुलाई राहत

radionepal

सागर परियार, जुम्ला । पछिल्लो समय सडक डिभिजन कार्यालय, जुम्लाले सडक सुधारमा तीव्रता दिएसँगै यात्रा सहज, सुरक्षित र छिटो हुँदा यात्रुहरु खुसी देखिएका छन् । 

नाग्म–गमगडी सडकको शुन्यदेखि १३ किमि सडक ग्राभेल प्रक्रियामै रहेपनि १३ किमिदेखि मुगुतर्फको सडकमा उल्लेखीय सुधार आएको छ । अधिकांश स्थानमा ग्राभेल, दुईलेन सडक र नाली बनाइसकेको अवस्था छ । बाँकी स्थानमा काम धमाधम भइरहेको छ । कर्णाली राजमार्ग भन्दा निकै सुरक्षित र फराकिर्लो  बनाउने लक्ष्यका साथ नाग्म–गमगडी सडकको काम अघि बढेको छ । 

नाग्म देखि गुठिज्युला सम्मको ४/५ घण्टा लाग्ने करिब ३७ किमिको यात्रा अहिले २ घण्टामै हुने गरेको छ । सडकमा साना ठुला यात्रुवाहक सवारीदेखि ठुला मालवाहक सवारी सहज रुपमा गुडिरहेको कनकासुन्दरीका स्थानीय दिपेन्द्र प्रसाद उपाध्यायको भनाइ छ । 

सडक डिभिजन कार्यालय, जुम्ला पनि चालू आर्थिक वर्षभित्रै नाग्म गमगडी सडकमा ग्राभेल गरी सकाउने योजनामा छ । 

गत आर्थिक वर्षमा नाग्म गमगडी सडकको ग्राभेल, स्तरवृद्धिका लागि करिब १४ करोड बजेट थियो । जसमा ९ करोड ४८ लाख मात्रै खर्च भयो । तर, करिब १९ किलोमिटर ग्राभेल हुनुपर्नेमा ९ किलोमिटर मात्रै भएको छ । 

लकडाउनका कारण गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालयमा जुम्ला, कालिकोट र मुगुमा सडक निर्माण, मर्मत सम्भार, पुल निर्माण, नयाँ ट्रयाक निर्माण, ग्राभेल लगायतका शीर्षकमा आएको करिब साँढे ३९ करोड खर्च हुन नसकी फिर्ता भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।