पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जुम्लाको कनकासुन्दरीमा १५ शैयाको अस्पताल शिलान्यास

radionepal

सागर परियार, जुम्ला । जुम्लाको कनकासुन्दरीका गाउँपालिका ४ हाडसिंजामा १५ शैया अस्पतालको शिलान्यास भएको छ । संघीय सरकारको १ स्थानीय तह १ अस्पताल कार्यक्रम अन्तरगत कनकासुन्दरीमा १८ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिका अध्यक्ष नरविर रावतले शिलान्यास गर्नुभएको हो । 

अस्पताल निर्माणका लागि २२ स्थानीयले ३५ सय वर्गमिटर जग्गा निशुल्क प्रदान गरेका छन् । गाउँमै अस्पताल निर्माण हुने भएपछि आफु मरेर गएपनि भावी पिँढीलाई सुविधा हुने सोचका साथ जग्गा उपलब्ध गराएको जग्गा दाताको भनाई छ । 

कनकासुन्दरी ४ का मयालाल सार्कीले भन्नुभयो, “सामान्य बिरामी हुँदा पनि सदरमुकाम जानुपर्छ ।  खाना बस्न, आउन जानमै औषधी उपचार भन्दा बढी खर्च हुन्थ्यो । गाउँमै अस्पताल हुनुपर्ने माग गरिरहेका थियौ । ढिलै भएपनि अस्पताल बन्ने थाहा पाएपछि खुसी लाग्यो ।” 

अहिले कनकासुन्दरीमै अस्पताल निर्माण हुने कुराले  मयालाल सार्की मात्र हैन त्यहाँका १४ हजार घरधुरी खुसी छन् । ढिलोमा अबको १–२ वर्षपछि कनकासुन्दरीका स्थानीयले गाउँमै विशेषज्ञ स्वास्थय सेवा पाउने छन् ।  

पालिका अध्यक्ष  नरविर रावतले भौगोलिक विकटताका कारण कनकासुन्दरीको पहिलो समस्या नै स्वास्थ्य सेवा रहेको बताउनुभयो । स्वास्थ्य सेवामा पहुँच नपुगेका कनकासुन्दरीका १४ हजार घरधुरीले १–२ वर्षमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अध्यक्ष रावतको भनाइ छ । 

संघीय सरकारले चालु आर्थिक वर्षमा ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल निर्माण कार्य शुरू गरेको छ । जस अन्तरगत कर्णालीका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल बन्दै छन् ।