पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पल्सर स्पोर्टस् अवार्डमा सागका स्वर्ण विजेताहरुको बर्चश्व

अजय बम, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेताहरुको बर्चश्व रहेको छ । 

सागमा चार स्वर्णसहित ९ पदक जितेकी पौडीकी गौरिका सिंह उत्कृष्ट महिला, २ स्वर्ण जितेका कराँतेका मन्डेकाजी श्रेष्ठ उत्कृष्ट पुरुष, २ स्वर्ण जितेका सुवास तामाङ उत्कृष्ट युवा तथा एकै खेलबाट सर्वाधिक १२ स्वर्ण दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।

सागमा ऐतिहासिक रजत पदक र एसियन सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको राष्ट्रिय महिला टोलीलाई टिम अफ दि इयरको रुपमा सम्मान गरियो । एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले स्पेसल अवार्ड पाए ।

सातदोबाटोस्थित कराँते एकेडेमीको हलमा आयोजित अवार्ड समारोहमा टेबलटेनिसका ऐतिहासिक पदक विजेता द्वय गीत क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन् ।