पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्लाष्टिक मुक्त बन्ने अभियानमा खजुरा गाउँपालिका

radionepal

गुरमुरत यादव, बाँके । खजुरा गाउँपालिकाको ८ औँ गाउँ सभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको गाउँ सभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । 

उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व सङ्कलनका लागि नयाँ स्रोत पहिचान र विवरण अद्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ ।

गाउँ सभामा खजुरा गाउँपालिका प्रमुख कक्ष पतिले आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मङ्सिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पुँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । त्यस्तै सङ्घीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पुँजीगत खर्च शून्य रहेको, प्रदेश सरकारबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पुँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्ष पतिले बताउनुभयो । 

उहाँले सबै वडामा सञ्चालित विभिन्न योजनाहरूको ठेक्का सम्झौता र उपभोक्ता समितिमार्फत हुने काम पनि सञ्चालनमा रहेको जानकारी दिनुभयो । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कक्ष पतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गर्नुभयो ।

सभाले चालू आर्थिक वर्षमा केही योजनाहरू संशोधन र परिमार्जनसहित पारित गरेको छ । सभामा वडाध्यक्ष तिलकवीर सुनार, देवीलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरु देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँ लगायतको सहभागिता रहेको थियो । चालू आर्थिक वर्षको राजश्व सङ्कलनको अवस्था सुधार रहेको जानकारी गराउँदै अध्यक्ष कक्ष पतिले मङ्सिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजश्व सङ्कलन भएको बताउनुभयो ।