पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वतन्त्र न्यायपालिकाको निर्णय पूर्ण रुपमा स्वीकार्य हुने : उपसभापति निधि

radionepal

अजय कुमार झा, जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र न्यायपालिकाले प्रतिनिधि सभाको सन्दर्भमा दिने निर्णय प्रति पूर्ण सम्मान गर्दै स्वीकार गरेर पार्टी अगाडी बढ्ने बताउनु भएको छ । 

उपसभापति निधिले नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधि सभाको पुनर्स्थापना तथा निर्वाचन जे आदेश न्यायलयवाट हुन्छ त्यस अनुसार नेपाली काँग्रेस अगाडी बढ्ने स्पष्ट पार्नु भयो । 

उपसभापति निधिले लोकतन्त्रको मूल जड प्रतिनिधि सभा जसरी पनि मुलुक तथा जनताका लागि आवश्यक रहेकाले नेपाली काँग्रेस त्यसका लागि जस्तो सुकै बलिदान र त्याग गर्नका लागि तत्पर भएको बताउनु भयो । 

उहाँले स्वतन्त्र न्यायपालिका माथि कहीँ कतैबाट पनि हस्तक्षेप वा प्रभावित बनाउने काम हुनु गलत रहेको बताउँदै कसैको अभिव्यक्तिबाट स्वतन्त्र न्यायपालिका प्रभावित हुन नहुने बताउनु भयो । 

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका उपसभापति निधिले सङ्घीयता लोकतन्त्र, गणतन्त्र तथा धर्म निरपेक्षता माथि कुनै सम्झौता काँग्रेसले नगर्ने बताउँदै अव राजसंस्था आउँछ भन्ने कुरा दिवा स्वप्न मात्र भएको बताउनु भयो । 

एक प्रश्नको जवाफमा नेता निधिले नेपाली काँग्रेसको महाधिवेशन निश्चित भएपछि मात्र सभापति पदमा आफ्नो उम्मेदवारीका बारेमा निर्णय लिने बताउनु भयो । नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राज सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थिए ।