पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश सरकारको पहलमा लगानी सम्मेलनको तयारीः मुख्यमन्त्री पोखरेल

radionepal

रामप्रसाद आचार्य, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको पहलमा लगानी सम्मेलनको तयारी भइरहेको बताउनुभएको छ ।

उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशमा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै मुख्यमन्त्री पोखरेलले लगानी सम्मेलनका लागि उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश सरकारबीच आवश्यक समन्वयको समेत तयारी भइरहेको जानकारी दिनुभयो । 

त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकासका लागि व्यवसायीसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । व्यवसायीको कुनै पनि समस्यालाई समाधान गर्न प्रदेश सरकार तत्पर रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि तथा बजार व्यवस्थापनमा जोड दिँदै मेला महोत्सव गर्दा ध्यान पुर्याउने उहाँले व्यवसायीलाई सुझाव दिनुभयो ।

मेला महोत्सवमा भारतीय व्यवसायी आउने र यहाँको पैसा लिएर जाने भएकाले यसमा सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकारमा राजनीतिक अस्थिरता नभएकाले ढुक्कसँग लगानी गर्न मुख्यमन्त्री पोखरेलले व्यवसायीलाई आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार अल्पमतमा नपरेकाले कसैले गरेको हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो ।