पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नवलपरासीद्वारा कपिलवस्तु ४० रनले पराजित

radionepal

रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो । उसका लागि अमर रसाइली ३४, इकलाख अहम्मदले नटआउट १९ र अर्पण लोनियाले १२ रनको योगदान दिए । बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले २, गणेश हरिजन, रमज अग्रहरी, वसिर अहम्मद, शिव कुँवरले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २३.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । उसका लागि इमरान खानले १८, रवि शुक्लाले नटआउट १३ र राज अग्रहरीले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् । 

बलिङमा नवलपरासीका अजित यादव र जितेन्द्र साहनी ३–१ तथा अर्पण लोनिया, इकलाख अहम्मद र रविस कुर्मीले १–१ विकेट लिए । 

खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच भए । भोलि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ । आजको खेल मौसम खराबी भएपछि २६ ओभरमा छोट्याइएको थियो ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापनपछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।