पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भक्तपुरमा जेसुम यात्रा

भक्तपुर । विश्व सम्पदा सूचीमा रहेको प्राचिन एवम् सम्पदा नगरी भक्तपुर दरबारस्क्वायरमा  शुक्रबार अलिक फरक दृश्य देखिन्थ्यो । दरबारस्क्वायरको लामपाटी फल्चामा बसेर कोही कलाकार सुनको ढोकासहितको पचपन्न झ्याले दरबार कागजमा उतार्दै थिए ।

कोही अलिक पर अन्य सम्पदाका दृश्य कागजमा उतारेर रङ भर्दै थिए भने कोही साहित्यकार सम्पदाको छेउँमा टुसुक्क बसेर भक्तपुरलाई शब्दमा उतार्दै बिम्व भर्दै थिए । यही क्रममा सो कार्यक्रमस्थल दरबारस्क्वायरमा पुग्नुभएका प्रधानमन्त्री पत्नी राधिका शाक्यले सोध्नुभयो, “भूकम्पले भत्किएका यहाँका सम्पदा अझै पुनःनिर्माण भएका छैनन् ?” सम्पदा अवलोकन गर्ने क्रममा उहाँले फेरी भन्नुभयो, “यहाँ धेरै भग्नावशेष अझै बाँकी रहेनछन्, यो ढुङ्गेधारा पनि भूकम्प कै कारण सुकेका होलान त ?”

विगत दुई वर्षदेखि निरन्तररुपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गर्दै आएका कला, साहित्य र रङमञ्चमा सक्रियहरुको एउटै साझा मञ्च ‘जेसुम यात्राको १३औँ श्रृङ्खला’लाई साथ दिन भक्तपुर पुग्नुभएका प्रधानमन्त्री पत्नी शाक्यको नजर चित्र उतार्दै गरेका कलाकारको कूचीमा पनि प¥यो । त्यसपछिको औपचारिक कार्यक्रममा बोल्दै उहाँले कोरोना सङ्क्रमणमा पनि बाहिर बढेको भीड देखेर चिन्ता व्यक्त गर्दै सुरक्षित भएर जनजीवन अगाडि बढाउनुपर्नेमा जोड दिनुुभयो । विगतमा प्रधानमन्त्री निवास बालुवाटार मै जेसुम यात्रा सञ्चालन गर्ने भनिए पनि राजनीतिक उतारका चढाब कारण रोकिए पनि अब यात्राको एक श्रृङ्खला बालुवाटारमै गरिने बताउनुभयो ।

बालुवाटार राजनीतिक केन्द्र मात्रै नभई, मानवीय जीवन, साहित्यिक, सामाजिक गतिविधि पनि हुने गरेको शाक्यको भनाइ थियो । भूमिगतकालमा आफूले पनि राजनीति गरेकाले यसमा के सही, के गलत पहिल्याउने गरेको बताउदै उहाँले अब आफू कहिल्यै राजनीति भने नगर्ने बताउनुभयो । आफ्नो ३३ वर्षको जागिरे जीवनमा पनि कुनै राजनीति नगरेको भन्दै उहाँले राजनीति गर्ने व्यक्ति सही भएन भने अरु केही सही हँुदैन भन्ने सबैले बुझ्नुपर्ने उहाँले औँल्याउनुभयो ।

आफूले सानैदेखि सामाजिक भावना बोकेको बताउदै शाक्यले भन्नुभयो, “म सानैदेखि गरिब, दुःखीलाई देख्दा जे सक्थेँ, त्यो सहयोग गर्थे, मलाई गरिबी के हो, गरिबलाई अगाडि बढ्न कति गाह्रो हुन्छ, भन्ने थाहा छ, त्यसैले केही गर्छु भन्नेलाई सहयोग गर्न मन लाग्छ, कोही नभएकालाई सहयोग गर्न मन लाग्छ ।”
कार्यक्रममा जेसुम यात्राका संयोजक अनिता तामाङ्गले साहित्य, नाट्य र चित्रकला विद्या समेटिएको यो अभियान समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, समाजलाई जिम्मेवार बन्न अभिप्रेरित गर्ने, समानरुपमा एउटै बाटो हिडाउन यात्रा निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

त्यसअवसरमा अभियन्ता स्नेह सायमी, बालकृष्ण बस्नेत, अनिता तामाङ्ग, फूलमान वल, गणेश बुढा, मनोहरी थापा, अनन्त वाग्ले, रोजिता बुद्धाचार्य, अस्मिता मानन्धर, देउराली चाम्लिङ्ग, दिपेन्द्र लामा, सन्तोष तामाङ्ग, जगत तामाङ्गले भक्तपुरको कला, संस्कृतिलाई समेटेर त्यहीँ रचना गरेको कविता तथा गीत वाचन गर्नुभयो ।

त्यस्तै चित्रकार दिपेन्द्र बनेपाली, चन्द्रा श्रेष्ठ, राजेन्द्र याकामी, लक्ष्मीप्रसाद खोतेजा, राधेश्याम कर्माचार्य, पूण्यराम मतां, कान्छाकाजी भासिमाले दरबारस्क्यारमा आजै दुईघण्टा लगाएर तयार पारेको चित्रको प्रर्दशन गर्दै कलालाई जीवन्त राख्ने यात्रा जारी रहेको बताउनुभयो । अभियन्ताले भक्तपुरको बिभिन्न सम्पदाको अवलोकन गर्नुभएको थियो ।