पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विद्यालय पुनः सञ्चालन अन्यौलमा 

radionepal

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको दर कम हुँदै गएपछि लामो समयदेखि बन्द भएका विद्यालयहरू बिस्तारै खुल्न थालेका छन् । सरकारले पनि देशैभर विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरेको छ भने जनस्वास्थ्य विज्ञहरूले चाहिँ जनसङ्ख्या बढी भएका काठमाडौँ उपत्यका लगायत ठुला सहर र  भारतसँग सीमा जोडिएका स्थानका विद्यालयहरू तत्काल नखोल्न सुझाव दिएका छन् ।

जोखिमको अवस्थाअनुसार स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले  ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुसार विद्यालयहरू पुनः सञ्चालनको जिम्मा स्थानीय तहलाई नै दिएको छ । जसअनुसार सङ्क्रमणको जोखिम कम भएका ठाउँहरूमा विद्यालयहरू खुलेका छन् भने जनसङ्ख्या बढी भएका सहरी क्षेत्रमा विद्यालयहरू खोल्ने वा नखोल्ने भनेर कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लालाई जिम्मा दिने गरी सिफारिस गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सरकारले देशैभर विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेको खण्डमा कार्यान्वयनका लागि तयार रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न तयारी भइरहेको छ । ’सरकारले देशैभर विद्यालय खोल्ने निर्णय गरे कार्यान्वयन गरिनेछ’ प्रवक्ता शर्माले बताउनुभयो ।

विद्यालय रहेको ठाउँ, त्यस क्षेत्रको सङ्क्रमणको अवस्था, जनस्वास्थ्य र सुरक्षाको मापदण्डअनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा राय परामर्शका लागि पठाउने र त्यहाँको अवस्था अनुसार विद्यालय पुनः खोल्ने वा नखोल्ने भन्ने निर्णय गर्न सकिनेछ । यस अवधिमा संक्रमण नभएका जिल्लामा पुन सञ्चालन गरिएका कतिपय विद्यालयहरू खुलेपछि संक्रमण बढेर पुन बन्द भएका पनि छन् ।

जनस्वास्थ्य विज्ञहरूले पनि काठमाडौँ उपत्यका लगायतका ठुला शहरहरुमा तत्काल विद्यालय नखोल्न सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे संक्रमण नभएका ठाउँमा स्कुल खोल्न सकिने र जोखिम रहेका स्थानमा तत्काल विद्यालय नखोल्दा बढी सुरक्षित रहन सकिने बताउनुहुन्छ ।

विश्वका धेरै मुलुकमा विद्यालय खुलेपछि संक्रमण फैलिएको उदाहरण दिँदै जनस्वास्थ्यविद् पाण्डेले विद्यालयहरू सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएका छन् कि छैनन् ?  भनेर अनुगमन गर्नुपर्ने बताउनुहुन्छ । पछिल्लो समयमा सरकारले ठुलो सङ्ख्यामा एन्टिजेन परीक्षण गरेको रिपोर्ट, बेलायतबाट फैलिएको कोरोना भाइरसको अवस्था र राजनीतिक भेला र जुलुसबाट थप संक्रमण फैलिन सक्ने हुँदा फागुनसम्म पर्खनुपर्ने जनस्वास्थ्यविद् पाण्डेको भनाइ छ ।

एकातिर कोरोना भाइरस शून्य भएका ठाउँमा खुलेका विद्यालयमा पनि पुन संक्रमण फैलिएर बन्द गर्नुपर्ने अवस्था आएको छ भने अर्कोतिर वैकल्पिक माध्यमबाट हुने पढाई प्रभावकारी नभएको भन्दै प्रत्यक्ष कक्षा सञ्चालनका लागि दबाब आउन थालेको छ । यस्तो अवस्थामा शिक्षक, अभिभावक र विद्यार्थीले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा जुनसुकै बेला सङ्क्रमणको जोखिम बढ्न सक्ने तर्फ पनि सचेत भई पठनपाठनको व्यवस्था गर्न जरुरी छ ।