पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दूधकोशी सामुदायिक अस्पतालको धुलिखेल अस्पतालसँग सहकार्य

radionepal

सन्तोष राउत, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माणाधीन दूधकोशी सामुदायिक अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग निर्माण तथा सञ्चालन लगायतका विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ ।

विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माणाधीन अस्पताल र धुलिखेल अस्पताल बिच दिगो सञ्चालन, विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह लगायतका विषयमा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. रमेश मकाजुले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै दूधकोशी सामुदायिक अस्पताल धुलिखेल दूधकोशी सामुदायिक अस्पतालमा परिणत भएको छ । गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भतारिनु नपर्ने थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले दाबी गर्नुभयो । अस्पतालबाट प्रसूति लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । मातृ शिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश नंं. १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

दुर्गम गाउँपालिकामा सुविधा सम्पन्न ५० शय्याको अस्पताल निर्माणका लागि करिब डेढ वर्षअघि महायज्ञ गरेर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरिएको थियो । दुर्गम गाउँमा अस्पताल नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने तथा लाखौँ ऋण काढेर हेलिकोप्टरमा बिरामी अस्पताल लैजानु पर्दाको पीडादायी अवस्थामा कम आउने बताइएको छ । अस्पतालका लागि स्थानीयले साँढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।