सप्तरीको शम्भुनाथ नगरपालिमा १२ करोड ३० लाख बेरुजु
राजविराज । सप्तरी जिल्लाको स्थानीयतहमा व्यापक अनियमितता भइरहेको जनगुनासो बढ्दै गएको बेला यहाँका एक नगरपालिकामा १२ करोड ३० लाख रकम बेरुजु देखिएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिकामा १२ करोड ३० लाख रकम बेरुजु देखिएको प्रतिवेदन सार्वजनिक भएको हो ।
प्रादेशिक लेखापरिक्षण निर्देशनालय प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले गत २१ असारमा तयार पारेको आर्थिक बर्ष २०७५/०७६ को लेखापरिक्षणमा सो बेरुजु देखिएको हो ।
लेखापरिक्षकले तयार पारेको प्रतिवेदनमा नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार नगरेको जनाएको छ । बेरुजु रहेको कुल रकम मध्ये असुल गर्नुपर्ने ६४ लाख ८९ हजार, प्रमाण कागज पेस गर्नुपर्ने ४ करोड ४ लाख २७ हजार, नियमित गर्नु पर्ने ४ करोड २५ लाख २४ हजार र पेस्की बाकी ३५ लाख ६० हजार देखिएको छ ।
नगरपालिकाले सार्वजनिक रुपमा यसबारे आम सर्वसाधारणलाई अहिलेसम्म जानकारी गराएको छैन ।
नायव महालेखापरिक्षक विन्दु विष्टले तयारपारेको प्रतिवेदनमा नगर कार्यकारिणी, नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नगरपालिको वित्तीय प्रतिवेदन अनुगमनका लागि जिम्मेवार रहेको ठहर गरेको छ ।