पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अभियुक्त कारागार चलान

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याको  अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ । 

जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । 

हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– १० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित राना रहेका छन् । 

गत कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका सहायक निरिक्षक विक र जवान साउदको हत्या गरिएको थियो । 

बेपत्ता प्रहरीको खोजी गर्दै जाँदा जुगेडा नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको थियो ।
रासस