पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा 

radionepal

किरण श्रेष्ठ, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेको भन्दै नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका प्रहरी निरिक्षक अरुण पौडेलले बताउनुभयो ।

जिल्लाको व्यास–१ तालघरेबाट उहाँलाई प्रहरीले पक्रेको हो । पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै हुनुहुन्थ्यो । पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

तर, नेता पौडेलसहित काँङ्ग्रेस तनहुँको जम्बो टिम निषेधाज्ञा उल्लंघन गर्दै पुल उद्घाटन गर्न पुगेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर काँग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो ।

त्यसक्रममा काँग्रेस कार्यवाहक सभापति जीतप्रकाश आलेसहित झण्डै दर्जन कार्यकर्ता पक्राउ परेका छन् । पृथ्वी राजमार्ग २ घण्टा देखि अवरुद्ध भएको छ । प्रहरी र काङ्ग्रेस नेता कार्यकर्ता बीच झडप भएको थियो ।

राजमार्गमा ढुङ्गा र टायर बालेर अवरुद्ध गरिएको छ । 

काँग्रेस नेता रामचन्द्र पौडेलले फेसबुक स्टाटस राख्दै भन्नुभयो ‘भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली काँग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’