पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रादेशिक अस्पताललाई नमूना बनाउने अभियान शुरुः मुख्यमन्त्री राउत

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको प्रादेशिक अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने अभियानको शुरुआत भईसकेको जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताल जनकपुरधाममा थप भएको तीन वटा विभागको उद्घाटन, स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा प्रदेश सरकारले उक्त अस्पताललाई मधेश स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रुपमा विकसित गर्ने गरी विधेयक ल्याएको बताउनु भयो ।

उहाँले चाँडै यससम्बन्धी अन्य कानून तथा पूर्वाधारहरुको निर्माण गरेर सञ्चालनमा ल्याउने बताउनु भयो । यसवाट प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणत्मक सुधार आउने बताउनु भयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रादेशिक अस्पतालको सेवा तथा सुविधाको विस्तारका लागि निरन्तर रुपमा प्रदेश सरकारले सहयोग गरिरहेको बताउँदै चाँडै जनशक्तिको व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोग मार्फत विज्ञापन हुने बताउनु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले प्रादेशिक अस्पतालको विकासको दर निक्कै बढेकोमा खुशी व्यक्त गर्दै अस्पतालको फोहर व्यवस्थापनका लागि उठाएको कदम सराहनीय भएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश नंं २ का सामाजिक विकासराज्यमन्त्री अभिराम शर्मा, अस्पतालका पूर्व अध्यक्ष मध्ये ईन्जिनियर प्रकाशचन्द्र साह, पूर्व मेसु मध्ये डा. विजय कुमार सिंह, प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह सहितका वक्ताहरुले बोल्नु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पतालको विकासमा योगदान दिने पूर्व मेडिकल सुपरिटेण्डेन्टहरु, पूर्व अध्यक्षहरु, कोरोना उपचारमा विशिष्ट योगदान दिने चिकित्सक तथा कर्मचारीहरु, विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरु, सामाजिक क्षेत्रमा योगदान दिने समाजसेवी अमरचन्द्र अनिल, वैद्यनाथ साह, बरिष्ठ पत्रकार राजेश्वर नेपाली तथा ईतिहास तथा संस्कृति विद डा. राजेन्द्र विमललाई दोसल्ला ओढाएर सम्मानित गर्नु भएको थियो ।