पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुलुकमै पहिलोपटक आयुर्वेद विज्ञानतर्फको पठनपाठन गौशालामा संचालन हुने

radionepal

रामनारायण महतो, बर्दिवास । महोत्तरीको गौशालामा मुलुकमै पहिलोपटक आयुर्वेद विज्ञानतर्फको पठनपाठन संचालन हुन लागेको छ । चालु शैक्षिक सत्रमा ४० विद्यार्थी बराबरको कोटा निर्धारण गरि नेपालमै पहिलोपटक सो प्रविधीको पठनपाठनको प्रक्रिया शुरु गरिएको गौशाला नगरपालिका कार्यालयले जनाएको छ । 

सोमवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, राष्ट्रिय मावि कान्तिवजारका प्रधानाध्यपक देवीप्रदास घिमिरेसहित स्थानीयहरुको उपस्थतीमा भएको छलफलमा सो विद्यालयमा पठनपाठन प्रक्रिया गर्न दिने सहमति भएको छ । 

छलफलका क्रममा मन्त्री पोखरेलले आयुर्वेद विज्ञानको माध्यमले प्राचिन विद्यालाई जीवन्त राख्नका लागि नै सो स्तरको पठनपाठन नेपालमै पहिलोपटक शुभारम्भ हुन लागेको बताउनुभयो ।

मुलुकमा ६७३ पालिकामा प्राविधीक शिक्षा संचालन भइरहेको जानकारी दिर्दै मन्त्री पोखरेलले अबको शिक्षण प्रक्रिया जीवनपद्धतिमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले तत्कालको लागि सोही विद्यालयको भवनमा विज्ञान तहका शिक्षकहरुद्वारा पढाई सुचारु हुने जानकारी दिनुभयो ।

गौशाला प्राविधिक शिक्षालयको भवन निर्माणको काम शुरु भएको छ । भवन तयारी नहुनुजेलसम्का लागि राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमै आयुर्वेद विज्ञानतर्फको पठनपाठन हुने बताउनुभयो ।

यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक देवीप्रसाद घिमिरेले विद्यालयमा भौतिक लगायत जनशक्तिको अभाव नरहेकोले विद्यालयले हरसम्भव सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो ।

सिटिईभीटी र गौशाला नगरपालिकाको संयुक्त आयोजनामा तत्कालका लागि गौशाला नगरपालिका–१२ कान्तिवारस्थित राष्ट्रिय मावि कान्तिवजारको भवनमा सो तहको पठनपाठन संचालन हुन लागेको छ ।
 
४० विद्यार्थी निर्धारण गरिएको कोटामा ४ जना पुर्णता छात्रवृत्ति र ३६ जना पुर्ण शुल्कमा आधारित पठनपाठन गराउन लागेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।