पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न प्रदेश सरकार तत्पर’

radionepal

विश्व अधिकारी, मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा गराउने उदेश्यका साथ काम गरिरहेको बताउनुभएको छ । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष (एच.डि.यु) को आज उद्घाटन गर्नुहुँदै उहाँले जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्षजनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पताल स्थापना गर्दै लाने नीति लिएको बताउनुभयो । 

मुख्यमन्त्री पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरिरहेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारको व्यवस्थापनमै भक्तपुर, नुवाकोट र सिन्धुली जिल्ला अस्पतालमा आजैदेखि सघन उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको समेत जानकारी दिनुभयो । उहाँले सङ्घीय सरकारद्वारा प्रदेशमा अस्पतालको स्तरोन्नति र निर्माणको लागि गरिएको प्रयास अन्तर्गत १३ जिल्लामा ५१ वटा अस्पतालको आज शिलान्यास भएको उल्लेख गर्दै सङ्घीय सरकारले ती अस्पतालको निर्माणको लागि ५८ अर्ब अनुदान रकम उपलब्ध गराएको बताउनुभयो । 

मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडाको जनघनत्वलाई मध्यनजर गर्दै प्रतिष्ठान मार्फत हेटौँडामा केही दिनभित्रै ३०० श्ययाको शिक्षण अस्पताल निर्माण गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो । 

उहाँले प्रदेश सरकारले उक्त शिक्षण अस्पताल निर्माणको लागि ४५ करोड रकम बजेट विनियोजन गरेको र अब हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासलाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले निरन्तर सहकार्य गरेर जनताको आस्था वृद्धि गर्ने बताउनुभयो । 

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जनताको स्वास्थ्य नै सबै भन्दा ठुलो प्राथमित्तामा राखेर प्रतिष्ठानले काम सुरु गरेको बताउनुभयो । 

विसं. २०१८ मा स्थापना भएको हेटौँडा अस्पतालमा पहिलो पटक आजदेखि सघन उपचार सेवा र उच्च उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा प्रवीन श्रेष्ठले बताउनुभयो ।