पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अस्पतालमा उपकरण तथा जनशक्ति कमी हुन नदिइने

radionepal

 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्थानीय तहमा सञ्चालित अस्पतालमा अत्यावश्यक उपकरण तथा जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा निर्माण हुने १५ श्ययाको अस्पतालको आज शिलान्यास गर्दै उहाँले भौतिक पूर्वाधारका साथै विशेषज्ञ चिकित्सकलगायतका स्वास्थ्य जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।  

उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने दिनका रुपमा इतिहासले आजको दिनलाई सम्झिने बताउनुभयो । सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल तथा अस्पताल नभएका ३९६ स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माणको शुरुआत गरेको हो । नयाँ बन्ने सबै अस्पताल एउटै डिजाइनका हुनेछन् । “अस्पतालका भवनहरु मात्र होइन, गाउँमै विशेषज्ञ पठाउने हाम्रो तयारी छ, दक्ष स्वास्थ्यकर्मी र औषधि उपकरणको व्यवस्थापनमा सरकार चुक्ने छैन्”, उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवाका लागि नेपालगञ्ज, काठमाडौँ लगायतका शहरमा धाउनुपर्ने बाध्यता अब हट्नेछ ।” 

सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका राज्यमन्त्री रावतले यसअघि यहाँका वीरेन्द्रनगर लाटीकोइलीस्थित नगर अस्पताल, बराहताल अस्पताल, पञ्चपुरी अस्पताल र चौकुनेस्थित भेरी कर्णाली अस्पतालको शिलान्यास गरिसक्नुभएको छ । भवन निर्माण शिलान्याससँगै भौतिक पूर्वाधार र न्यूनतम जनशक्ति भएका स्वास्थ्य संस्थाहरुमा राज्यमन्त्री रावतले अस्पतालका रुपमा विशिष्टीकृत सेवाको पनि शुभारम्भ गर्नुभयो । 

सरकारले १५ श्ययाको अस्पतालका लागि निर्माणको शुरुआतका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट निकासा पठाइसकेको छ । प्रतिअस्पताल रु १८ करोड क्रमागत रुपमा बजेट आउने सुनिश्चित भइसकेको र दुई वर्षभित्र भवन निर्माण पूरा हुने उहाँले प्रस्ट पार्नुभयो । 

चार स्थानीय तहमा अस्पताल शिलान्यास

सिमकोट–हुम्लाको विभिन्न चार स्थानीय तहमा आज अस्पतालको शिलान्यास गरिएको छ । जिल्लाको सर्केगाड, ताँजाकोट, अदानचुली र नाम्खा गाउँपालिकामा एकसाथ अस्पतालको शिलान्यास हुँदा यहाँका नागरिक खुशी भएका छन् । 

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सर्केगाड गाउँपालिकाको अस्पताल शिलान्यास गर्नुभयो भने अन्य गाउँपालिकामा पनि सम्बन्धित पालिकाका जनप्रतिनिधिले शिलान्यास गरेका छन् । पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । रासस