पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइते बनेका एकको उपचारकोक्रममा मृत्यु

बिक्रम रौनियार

महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।

घाइते न्यौपानेको काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारका सदस्य सौगात न्यौपानेले जानकारी दिनुभयो । मृतक न्यौपानेको दुवै तिघ्रामा गोली लागेको थियो । बर्दिवासमा सामान्य उपचार पश्चात् गम्भीर घाइते न्यौपानेलाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।

६ वर्षीया बालिकाको हत्याको विरोधमा पूर्व पश्चिम राजमार्ग स्थित बर्दिवासमा बिरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका थिए ।

बालिका हत्याको बिरोध गर्दै बालिकाको शव स्थानीयहरूले पूर्व पश्चिम राजमार्गमै राखेर अवरुद्ध गर्दै प्रदर्शन गर्ने क्रममा स्थिति नियन्त्रणमा लिन र राजमार्ग खुलाउन प्रहरी दर्जनौँ राउन्ड गोली तथा अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रहरीले एकसय राउन्ड भन्दा बढी हवाई फायर गरेको स्थानीयहरूले बताएका छन् । हत्या गरिएकी बालिकाको शव प्रहरीले राजमार्गबाट आफ्नो नियन्त्रण लिई पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

मङ्सिर ७ गते आइतबारदेखि बेपत्ता भएकी ६ वर्षीय बालिकाको हत्या गरेर फलिएको अवस्थामा शव  फेला परेको थियो । बस्तीबाटै हराएकी सहिद आलमकी ६ वर्षीय छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँले जानकारी दिनुुुभयो । बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घरभई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको जनाएको छ । हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आगजनी र तोडफोड गरेका थिए । घर पूर्ण रुपमा क्षति भएको छ ।

पक्राउ परेका साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । २०७७ वैशाख २८ गते साह हत्या आरोपमा पक्राउ परेका थिए । पछि जिल्ला अदालत महोत्तरीबाट धरौटी उनी रिहा भएका थिए ।

अहिले राजमार्ग क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।