पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल संवत् मौलिक राष्ट्रिय संवत्ः प्रमुख शाक्य

पुष्करराज बुढाथोकी, भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताउनुभएको छ । 

मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवन आज उद्घाटन गर्ने क्रममा नगर प्रमुख शाक्यले नेपाल संवत् मौलिक राष्ट्रिय संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नु नहुने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका ठाउँ उपलब्ध भए जहाँ पनि नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखघर साख्वाःको शालिक र पार्क बनाउन तयार रहेको बताउनुभयो । 

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घाषिणा गरेको स्मरण र्गर्दै उहाँको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

नगरपालिकाको रु ९० लाख, संघीय सांसद महेश बस्नेत मार्फत सांसद विकास कोषबाट रु ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जनश्रमदानसहित रु १० लाख गरी जम्मा रु एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । 

भवनमा सूचना केन्द्र, शंखधर संग्राहलय,प्रतिष्ठानको कार्यालय र हल रहने छ ।