पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्वतको कुश्मामा आईतबारदेखि विद्यालय खोल्ने निर्णय

 

पर्वत । कोरोनाको त्रासका कारण बन्द रहेका पर्वतको कुश्माका विद्यालय आगामी आईतबाररदेखि खुल्ला गर्ने निर्णय भएको छ ।

कुश्मा नगरपालिकामा बिहीबार बसेको जनप्रतिनिधि र सरोकारवालाहरूको बैठकले आगामी आईतवारदेखि नियमित रूपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । झन्डै ८ महिनादेखि शैक्षिक संस्थाहरू बन्द हुँदा चालु शैक्षिक सत्र नै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरूको पठनपाठनमा समेत असर पुगेका कारण आईतबारदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

विद्यालयलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित पठनपाठन सुरु गर्न निर्देशन दिइएको जोशीले बताउनुभयो । कुश्मामा कोरोनाको जोखिम कम हुँदै गएको निक्र्यौल गर्दै विद्यालय खोल्न शिक्षाबिद्हरुको सुझाव आएपछि विद्यालय खोल्ने निर्णयमा पुगेको जोशीले बताउनुभएको छ ।

शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतिक दुरी कायम गरेर विद्यालय खोल्न भनिएको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सबै कक्षा सञ्चालन गर्ने वा बिहान, दिउँसो र साँझ गरेर भौतिक दुरी कायम हुने गरी सञ्चालन गर्ने भन्ने विषयमा के सम्भव हुन्छ सोही पद्धति अपनाएर विद्यालय खोल्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

लकडाउन भएपछि गएको जेठदेखि निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए भने केही सामुदायिक विद्यालयले अनलाइन र केही विद्यालयहरूले टोल शिक्षा सञ्चालन गरेर पढाउँदै आएपनि प्रभावकारी नदेखिएपछि नगरपालिकाले विद्यालय नै खोलेर पठनपाठन सुचारु गर्न आग्रह गरेको हो । त्यस्तै कुनै विद्यार्थी वा शिक्षकलाई कुनै स्वास्थ्य समस्या आइपरेमा पनि विद्यालयले तत्काल आवश्यक निर्णय गरी पठनपाठनलाई रोक्ने र सुचारु गर्ने बारे निर्णय गर्न सक्ने पनि नगरपालिकाले जनाएको छ ।