पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्सा र बाराका थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

ध्रुब अधिकारी
वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्सा र बाराका गरी थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सा र बाराको विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएको ८८ जनाको स्वाब परीक्षण गर्दा पर्साका १२ र बाराका दुई जना गरी १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा सङ्क्रमण पुष्टि हुनेहरू सबै बीरगंज कै रहेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर ८ का तीन जना, वडा नम्बर ५ र १३ का दुई ÷दुई जनामा सङ्क्रमण देखिएको छ भने वडा नम्बर ३, ४, ६, १० र १६ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले जानकारी दिनुभयो ।

यस्तै बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ५ र कलैया उप–महानगरपालिका वडा नम्बर ४ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकाहरूमा तीन जना महिला रहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरू २८ वर्ष देखि ६० वर्ष उमेर समूहका रहेका छन् भने उनीहरूको सिटी भ्यालु १७ देखि ३० सम्म रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।