पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र बंगलादेशबीचको दोश्रो मैत्रीपूर्ण खेल बराबरीमा सम्पन्न

अजय बम, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।

मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै उपाधिबाट बन्चित भएको हो ।

नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो । बल पोसेसनमा जोड दिएको नेपालले केही आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो । 
बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा दुवै टिमले केही गोलका अवसरहरु खेर फालेका थिए । बंगलादेशका सुमोन रेजा र सोएल राना तथा नेपालका अनन्त तामाङ, अन्जन विष्टले अवसर पाए पनि गोल भने सकेनन् ।

खेलको इन्ज्यूरी समयमा रन्जित धिमालको फ्रिकिकलाई सदुपयोग गरी पेनाल्टी एरियाबाट नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्किएपछि नेपालले खेल जित्न चुकेको हो ।

आजको खेलमा पुजन उपर्कोटी, छिरिङ गुरुङ र शेशेहाङ आङदेबेले राष्ट्रिय टोलीबाट डेब्यू गरे । नतिजा जे भए पनि कोरोनाले अस्तव्यस्त नेपाली खेलकुदका लगि यसले सकारात्मक सन्देश दिएको छ । सरकारले खेलकुद प्रशिक्षण सुरु गर्ने निर्णय गरिसके पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुको आयोजनाका लागि पहल सुरु गर्न सहज बनाएको छ ।

कोरोनाका कारण ८ महिनादेखि ठप्प घरेलु खेलकुद गतिविधिलाई चलायमान बनाउने प्रक्रियाको पहिलो चरणका रुपमा नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलदेशको राष्ट्रिय टोलीसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको श्रृंखला खेलेको छ । सरकारले असोज अन्तिम साता फुटबलको प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो । 

फिफा र एएफसी विश्वकप छनोट खेल नजिकिरहेको अवस्थामा बंगलादेशसँगको खेलमा नेपालले आफ्नो स्तर परीक्षण गरेको हो ।