पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनकपुरधामको कपिलेश्वरनाथ महादेव मन्दिर संरक्षण र विकासको माग

radionepal

अजय कुमार झा, जनकपुरधाम । जनकपुरधाम वडा नंं १६ कपिलेश्वरमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको कपिलेश्रनाथ महादेव मन्दिरको विकास र संरक्षणका लागि स्थानीयबासीले माग गरेका छन् ।

स्थानीयबासीले मन्दिरको ईतिहास तथा वर्तमान अवस्थाका बारेमा आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सेनवंशको पालामा निर्माण भएको कपिलेश्वरनाथ महादेव मन्दिरको साविक भवन १९९० सालको महाभूकम्पमा पूर्ण क्षति भएपनि पछि पुनः निर्माण भएको बताउदै यसका कतिपय महत्वपूर्ण दस्तावेजहरु लगिएको जनउदै फिर्ता गर्नका लागि माग गरेको छ ।

त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको राजधानी जनकपुरधामको चार कूनामा द्वारपालका रुपमा साक्षात महादेव नै रहेको हुनाले चारवटा कुनामा चार महादेव मन्दिर रहेकोमा त्यस मध्ये एक कपिलेश्वरनाथ मन्दिर रहेको बताउदै कतिपय सम्पत्ति तथा पुराना मूर्तिहरु गुठी संस्थानले लगेकोमा फिर्ता गर्नका लागि माग गरेको छ ।

कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्मम १८ वटा महन्थ भएको बताउदै यसमा भएको श्रीसम्पत्तिको संरक्षण आवश्यक भएको स्थानीयबासी बताउँछन् ।  

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ का वडाध्यक्ष रामअशिष पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण तथा विकासका लागि स्थानीयबासी तथा चन्दादाताको सहयोगमा हुने गरेको बताउदै उपमहानगरपालिका तथा राज्य पक्षले थप सहयोग गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।

निक्कै प्रसिद्ध रहेको कपिलेश्वरनाथ महादेव मन्दिरको वर्णन रामायण तथा मिथिला महात्म्यमा उल्लेख रहेको बताउदै यस ठाउँलाई धार्मिक पर्यटकीय तीर्थ स्थलको रुपमा विकास गर्नका लागि पुरातत्व विभाग, गुठी संस्थान, प्रदेश सरकार तथा उपमहानगरपालिकाले विषेश ध्यान दिनु पर्ने आवश्यकतामा कपिलेश्वरका पूर्व वडाध्यक्ष  रामचन्द्र पजियारले जोड दिनुभयो ।

कपिलेश्वरनाथ यूवा क्लवका अध्यक्ष तुलसी पन्जियारको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्दिरको ईतिहासका बारेमा स्थानीयबासी तथा समाजसेवी श्याम पूर्वे, मन्दिरका पूजारी लालबाबु साहले जानकारी दिनु भएको थियो ।

निक्कै प्राचीन मन्दिर भएपनि यसको व्यवस्थित विकास नभएका कारणले यसको विकासले अपेक्षित गति नलिएको ८० वर्षीय स्थानीय गंगाई साहुले जानकारी दिनुभयो ।