पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

द्रुत गतिको इन्टरनेटप्रति उपभोक्ता आकर्षित

आकाश तारा बयक
सुर्खेत ।
नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवाको माग सुर्खेतमा बढ्दै गइरहेको छ ।

एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले सुर्खेतका उपभोक्ता माँझ यसको माग बढ्दै गइरहेको हो ।

सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाइन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाइन जडान गर्न तर्फ आकर्षित गरेको छ ।

नेपाल टेलिकम सुर्खेतका अनुसार गत वर्ष सुर्खेत जिल्लाभरी ल्याण्डलाइन ग्राहकको संख्या ५ हजार ६ सय रहेकोमा चालु आर्थिक वर्षको कार्तिक तेस्रो सातासम्म एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै ल्यान्डलाइन ग्राहकको संख्या ६ हजार पुगेको हो । टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवा सुर्खेत जिल्लाभरी विस्तार गरिरहेको छ ।

नेपाल टेलिकम सुर्खेतको तथ्यांक अनुसार टेलिकम एफटीटीएचको प्रयोगकर्ता सदरमुकाम वीरेन्द्रनगरमा मात्र ५ सय रहेका छन् । थप विस्तारको काम भइरहेकाले अब चालु आर्थिक वर्ष भित्र ६ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको नेपाल टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर नारायणप्रसाद कुसीले जानकारी दिनुभयो ।

उहाँले सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताको लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

उहाँका अनुसार त्यसै अनुरुप हाल नेपाल टेलिकमको वेवसाइट तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध रहेको छ ।

‘कर्णाली प्रदेशको दैलेख जिल्लाभरी एफटीटीएच सेवा विस्तार भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘छिट्टै सल्यानसँगै सल्लीबजार, सुर्खेतका छिन्चु, जहरे, मेहेलकुनालगायतका क्षेत्रमा एफटीटीएच सेवा पुर्याउँदै छौं ।’ उहाँले टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार अभियानमा जुटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीभी र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् ।

यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आइएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ ।

गुणस्तरीय सेवा पुर्याउन प्रयासरत
टेलिकमले आफ्नो सेवालाई अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासरत रहेको सुर्खेत कार्यालय प्रमुख कुसी बताउनुहुन्छ ।

उहाँले कर्णालीमा टेलिकमको सेवा एवं सुविधालाई थप व्यवस्थित गर्दै सर्वसुलभ बनाउने कार्यलाई कोरोना महामारीलगायतका कारणले ढिलाई भइरहेको जनाउनुभयो ।

उहाँका अनुसार टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका लागि भौतिक संरचना अपुग भएकाले सुर्खेतमा राख्नुपर्ने कार्यालय नेपालगञ्जबाटै सञ्चालन गर्नु परिरहेको छ ।

टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयको कार्यालय स्थापना गर्न तत्काल प्रि–फाइव घर निर्माणका लागि टेण्डर निकाले पनि मापदण्ड पुगेका निर्माणकर्ताको अभावमा हाल स्थिगित भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रादेशिक निर्देशनालय कार्यालय निर्माणका लागि वीरेन्द्रनगरस्थित भेरी एफएम नजिकै जग्गा भएपनि आवश्यक प्रक्रियागत कारणले भवन निर्माणमा ढिलाइ भइरहेको छ ।

साउनदेखि सुर्खेत कार्यालयले कर्णाली प्रदेशका १० वटै जिल्लास्थित टेलिकमका कार्यालयसँग समन्वय तथा निर्देशनात्मक कार्य गर्दै आइरहेको छ । टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले कर्णालीमा पर्याप्त सडक, बत्तीलगायत भौतिक पूर्वाधार अभावका बाबजुद टेलिकमले वैकल्पिक सोलार प्यानल जोडेर भएपनि मोवाइल नेटवर्क विस्तार अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरिएको पनि उहाँले जनाउनुभयो ।

उहाँका अनुसार अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा कार्यालय जुटेको छ ।