पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संरक्षणको अभावमा पुरिँदै कछुवा दह 

radionepal

दीपक शर्मा, सल्यान । संरक्षणको अभावमा सल्यानको चिनारी बोकेको कछुवा दह ओझेलमा पर्नुका साथै पुरिदै जान थालेकोे छ । 

जैविक विविधताले भरिपूर्ण दह आवश्यक संरक्षणको अभावमा पुरिँदै जान थालेको हो । कालीमाटी गाउँपालिका वडा न २ मजाउमा रहेको कछुवा दह आसपासका डाँडाबाट बगेर आउने माटोको बहाव र बाढी पहिरोले गर्दा जिल्लाको ठुलो दह पुरिदै गएको छ ।

अव्यवस्थित रुपमा खनिएका मोटरबाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिदै गएपछि कछुवा दहको अस्तित्व संकटमा परेको हो । ताल संरक्षणतर्फ सम्बन्धित निकायले मौन बस्दा आन्तरिक तथा बाह्रय पर्यटक समेत घट्न थालेको स्थानीयहरुको भनाई रहेको छ । दह नजिकैबाट बाटो मोटरबाटो लिँदा दह झनै बढी पुरिएको स्थानीय तिला केसीले बताइन । 

संरक्षण अभावका कारण १ सय ५० मिटर लम्बाइमा खुम्चिन पुगेको दह यथाशक्य कुनै कदम नचाल्ने हो केही वर्षमै लोप भएर जाने सम्भावना रहेको छ । सल्यान जिल्लाकै एवं कालीमाटी रामपुर गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि कछुवा दह संरक्षणतर्फ सबै पक्ष उत्तिकै उत्तरदायी हुनुपर्ने कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । 

उनले भने ‘कछुवा दह एक दह मात्र नभएर यसले प्राकृतिक तथा धार्मिक महत्व पनि बोकेको छ । संरक्षणको अभावमा ओझेलमा परेको दहलाई गाउँपालिकाकै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न जरुरी छ ।’ 

यस दह नजिकै देउती बज्यूको मन्दिर समेत रहेको छ । उक्त मन्दिर समेत आवश्यक संरक्षणको अभावमा जीर्ण बनेको छ । यस मन्दिरमा चिताएको पुरा हुने जनविश्वास रहेको छ । यसै मन्दिरका कारण प्रत्येक वर्ष शिवरात्रिको दिन रातदिन गरेर ३ दिन मेला लाग्ने गर्दछ । 

तालको अवलोकन गर्न दाङ, सुर्खेत, जाजरकोट, बाँके बर्दिया लगायतका क्षेत्रमा आउने गर्दछन् । यस दहसँगै धार्मिक महत्व समेत रहेको मन्दिर तथा दह वरपर रहेका संरचनाको संरक्षण गर्नु पर्ने देखिन्छ ।