पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडक्रसद्वारा एक सय ५० बाढीपीडित घरपरिवारलाई राहत वितरण

टेकराज भण्डारी, अछाम । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले रामारोशन गाउँपालिका वडा नम्बर  ५ का १ सय ५० घरधुरीलाई राहत वितरण गरेको छ । रेडक्रसको मनसुन राहत परियोजना कार्यक्रम अन्तर्गत निस्शर्त नगद अनुदान वितरण गरिएको हो ।

रामारोशनका बाढिपिडितहरूलाई प्रति परिवार ५ हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री ध्रुव बहादुर शाहीले बताउनुभयो । यस क्षेत्रका बाढिपिडितहरूलाई जिविकोपार्जन गर्न सहज पार्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले यो कार्य अगाडि बढाएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यालयका बरिस्ठ अधिकृत उमेश ढुंगानाले जानकारी दिनुभएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै त्यस क्षेत्रका स्थानीयलाई सरसफाइका लागि साबुन र नगदसहित राहात बितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष झंकर साउदले जनतालाई राहत मात्रै भन्दापनि अब पिडित जनताहरूलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । पालिकामा राहातका नाममा थुप्रै राहत आएको र अब सीपमुलक कार्यक्रम सहित आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने भन्दै अब अन्य विकासमा जोड दिनुपर्नेमा जोड दिनुभएको छ।

बाढिले रामारोशनलाई निकै पछाडि पारेकोमा चिन्ता ब्यक्त गर्दै यसमा गाउँपालिका जिम्मेवारपुर्ण ढंगले पुनः निर्माणमा जुटेको बताउनुभयो । अब रामारोशनको विकासका लागि बृहत तटबन्ध आवश्यक भएकोले यस्ता कार्यमा सहयोग गर्न समेत सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण परियार , नेकपाका जिल्ला कमिटी सदस्य ललिता बुढा, नेपाली कांग्रेसका वडा सभापति बल बहादुर बुढा, रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक गंगा कुवर, पत्रकार महासंघका कोषाध्यक्ष टेक बहादुर थापा, अस्थायी प्रहरी पोष्ट ईन्चार्ज भुवन पाल, नेपाल रेडक्रस सोसाइटीका उप कोषाध्यक्ष सर्प सिं बिक, मंगलसेन उपशाखा सचिव धन कुमार केसी, लगायतको सहभागीता रहेको थियोे ।

आपत विपत परेको बेला रेडक्रसले वितरण गरेको राहातले आफुहरूलाई ठुलो सहयोग पुगेको भन्दै स्थानीयले खुसी ब्यक्त गरेका छन् । स्थानीयले पनि आगामि दिनमा दिर्घकालिन योजना सहित आउन अनुरोध गरेका छन् । 

गत भदौ २ गते राति अछामको रामारोशन ५ मा रहेको सैनिबजार बगाउँदा १७ जना बेपत्ता भएकोमा ८ जनाको शव प्राप्त भएको र अझै ९ जना हराईरहेका छन् । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल, सयौँ रोपनी खेतीबारी बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।