पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहाडी जिल्लामा साहसिक साइकल यात्रा

इलाम । कोरोना सङ्क्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको छ । लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको यात्रामा विभिन्न पेसामा आबद्ध १३ युवा साइकल यात्री सहभागी थिए । 

इलामको हरियाली चियाबारी, नागबेली झैँ घुमेका सडकमा साइकल यात्रीको आगमनले थप रमाइलो थप्ने काम गरेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर चिपालुले बताउनुभयो । उद्योग वाणिज्य सङ्घको पहलमा साइकल यात्रीलाई स्वागत गर्दै कोरोना कहरमा शून्य रहेको पर्यटनले केही बढ्ने विश्वास व्यक्त भएको थियो । साइकल यात्री बुद्ध तामाङले सो क्षेत्र पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह गर्न आफूहरू यहाँ आएको बताउनुभयो । 

ताप्लेजुङको सुकेटारदेखि सुरु भएको चार दिने साइकल यात्रा झापामा सम्पन्न भएको साइकल यात्राका संयोजक योगेन्द्र थापाले बताउनुभयो । द हिमालयन माउन्टेन बाइक विर्तामोडको सहयोगमा सञ्चालन भएको साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारी लगायतका क्षेत्र छिचोल्दै दुई सय ३० किलोमिटर यात्रा गरेको बताए । इन्धनको बचत तथा शारीरिक कसरत राम्रो हुने भएकाले साइकल यात्रा फलदायी हुने सहभागीको भनाइ थियो । रासस