पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

radionepal

केशव ढुंगाना, काठमाडौँ । कोरोना भाइरसबाट आज थप ३ हजार ३८ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको र संक्रमण मुक्त हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप २ हजार ३ सय ६४ जना संक्रमित भएका छन् । विभिन्न प्रयोगशालामा आज ९ हजार ७ सय ६९ वटा नमुनाको रियल टाईम पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ८४ जना महिला र १ हजार ३ सय ८० जना पुरूषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँमा १ हजार ३ सय ३८ जना, ललितपुरमा १ सय ८ जना र भक्तपुरमा ९७ जना गरी उपत्यकामा मात्रै १ हजार ६ सय १५ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । 

यस्तै नेपालमा हाल सम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । आज थप १७ जनाको कोरोनाका कारण मृत्यु भएपछि हाल सम्म मृत्यु हुनेको कूल सख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हालसम्म काठमाडौमा २ सय ९ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ५८ जना गरी काठमाडौँ उपत्यकामा मात्रै ३ सय २८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । 

यस्तै आज देश भरमा गरी जम्मा ३८ हजार ९ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ३१ हजार ८ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ५४ जना अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ३ सय ४ जना संक्रमितको आईसियू र ७६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।