पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनगणनामा नागरिक दायित्व

radionepal

ढुण्डीराज लामिछाने

देशमा अक्सर बसोवास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरूकोे जनसाङ्ख्यिक, सामाजिक तथा तथा आर्थिक विवरणहरू सङ्कलन गर्ने र यसरी सङ्कलित तथ्याङ्कको प्रशोधन, सारिणीकरण एवम् प्रकाशन गर्ने समष्टिगत प्रक्रियालाई जनगणना भनिन्छ । जनगणनाबाट सङ्कलन भएका तथ्याङ्क देशको सामाजिक तथा आर्थिक विकासका लागि योजना तर्जुमा, अध्ययन, अनुसन्धान गर्न अति नै उपयोगी हुन्छन् । आधुनिक राज्यको अवधारणाअनुसार जनगणना योजनाबद्ध विकासको अवधारणाको अभिन्न पाटो हो ।

नेपालमा जनगणनाको १२औँ संस्करण आगामी २०७८ सालको जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदै छ । नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि जनगणनाको खास महत्व हुन्छ । खासगरी मौलिक हकसम्बन्धी व्यवस्थामा बालबालिकाको हक, महिलाको हक, ज्येष्ठ नागरिकको हक, दलितको हक, आवासको हक, रोजगारीको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक आदि जस्ता महत्वपूर्ण कुरा नागरिकले कति प्राप्त गरेका छन् वा छैनन् अनि अब के गर्नुपर्ने रहेछ भन्ने जनगणनाबाट प्राप्त हुने तथ्याङ्कबाट विश्लेषण हुन्छ ।

नागरिक दायित्व र कर्तव्य : विधिगत व्यवस्था
राष्ट्रिय जनगणना देशव्यापी रूपमा गरिने सबैभन्दा ठूलो सर्वेक्षण हो । यो सामान्य नागरिकदेखि सम्माननीय राष्ट्रपतिसम्मका व्यक्तिगत विशेषताको गणना हो । यो महाअभियान सफल पार्नका लागि हरेक नागरिकको समान दायित्व हुन्छ । जनगणनाका सन्दर्भमा नागरिकको मुख्य दायित्व भनेको यसको प्रचार–प्रसार, गणक तथा गणना सामग्रीको सुरक्षा र संरक्षण गर्नु र गणकलाई सही सूचना दिनु नै हो । विक्रम संवत् २०७२ मा जारी नेपालको संविधानको धारा ४८ मा प्रत्येक नागरिकको कर्तव्य किटान गरिएको छ । राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु आदि विषयहरू नागरिकका कर्तव्यका रूपमा मूल कानुनमा उल्लेख छ । नागरिक कर्तव्य आफैँमा फराकिलो विषय हो । यी सबै दायित्व जनगणना प्रयोजनका लागि पनि सान्दर्भिक हुन्छन् र नागरिकले निर्वाह गर्नुपर्ने हुन्छ । नागरिक कर्तव्य संविधान, ऐन, कानुनमा राखेर मात्र पूरा हुने होइन, यो त देशप्रतिको प्रेमभाव, भक्ति, स्वाभिमान, आस्थालाई सङ्केत गर्ने विषय हो ।

जनगणनामा नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कुरा राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश–२०७६ मा उल्लेख छ । आदेशको दफा ३ को (२) मा भनिएको छ, ‘जनगणना कार्यक्रमलाई सहयोग पुर्‍याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।’ यसैगरी, आदेशमा भएका अन्य व्यवस्थाअनुसार गणक तथा सुपरीवेक्षकका रूपमा भाग लिनेले कानुनबमोजिम कार्य गर्न नहुने पनि उल्लेख
गरिएको छ ।

दायित्व बुझाउने अनेक उपाय
जनगणनाको महत्वका बारेमा आमनागरिकलाई बुझाउनका लागि विभिन्न उपायहरू हुन सक्छन् । पहिलो त, गणना प्रक्रियामा बेरोजगार युवा सुपरभाइज र गणक भई नागरिकले प्रत्यक्ष सहभागिता जनाएर । करिब ५२ हजार जनशक्ति प्रत्यक्ष रूपमा यस अभियानमा सामेल हुन्छन् । त्यो भनेको कम्तीमा ५२ हजार घरपरिवार जनगणनामा प्रत्यक्ष रूपमा सहभागी हुन्छन् । उनीहरूले जनगणनाका बारेमा अरूले भन्दा बढी सुन्छन्, बुझ्छन् र जानकारी राख्छन् । अनुमान छ, एक घरको औसत परिवार सङ्ख्या साढे चारजना अनुमान गर्दा करिब २३ लाख चार हजारजनाले जनगणनाका बारेमा निकै धेरै कुरा थाहा पाएका हुन्छन् । यति सङ्ख्याका मानिसले कम्तीमा एकजनाले दसजना साथीभाइ तथा आफन्तलाई मात्र जनगणनाका बारेमा आफूले जानेका कुरा जानकारी गराए भने पनि करिब सबै मानिसले जनगणनाका बारेमा जानकारी पाउँछन् ।

दोस्रो, अहिलेको सबैभन्दा शक्तिशाली माध्यम सामाजिक सञ्जाल हो । यसले हरेक घर–घर र व्यक्ति–व्यक्तिमा जनगणनाका बारेमा जानकारी गराउन मद्दत गर्छ । आमनागरिकलाई सहजीकरण गर्न सक्ने समूह राजनीतिज्ञ, सामाजिक तथा पेशागत सङ्घ सङ्गठन, निजी क्षेत्र, सामाजिक परिचालक, आमा समूह, कृषि समूह, उपभोक्ता समूह, बाल क्लब आदि मार्फत पनि जनगणनाको प्रयोजनका बारेमा आममानिसले थाहा पाउँछन् भन्ने केन्द्रीय तथ्याङ्क विभागको अपेक्षा छ । यसका लागि विभिन्न प्रचार सामग्रीहरूको उत्पादन गरिनेछ । ती सामग्री आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल, विभागको वेबसाइटमार्फत पनि जनजनमा पु¥याउन सकिन्छ ।

तेस्रो, नागरिक समाजको प्रतिनिधित्व र सहभागितामार्फत नागरिकको दायित्व र कर्तव्य पूरा गर्न सकिन्छ । गणक सबै घरमा पुगे–नपुगेको कुरा स्थानीय बासिन्दालाई नै थाहा हुन्छ । यदाकदा गणकहरूले घरपरिवारको विवरण टिप्न छुटाएको, चौक, चौताराबाटै तथ्याङ्क लिने गरेको, एकै स्थानमा बसी अरू परिवारको विवरण टिपेकोजस्ता आरोपहरू केन्द्रीय तथ्याङ्क विभागलाई लाग्ने गरेको पाइन्छ । यी कुरा विगतमा नभएका होइनन् भन्न सकिने अवस्था पनि छैन तर ती गलत प्रवृत्ति भएको भए निमिट्यान्न पार्न नागरिक सचेत भइदिए भनेमात्र धेरै सजिलो हुन्छ । गणक तथा सुपरीवेक्षकका यस किसिमका गलत अभ्यास देखिएमा तुरुन्तै सुपरभाइजर वा स्थानीय तह वा सम्बन्धित जनगणना कार्यालयमा खबर गरेमा जनगणनामा हुने त्रुटि कम गर्न धेरै सजिलो हुन्छ।

जनगणनाप्रति सबैलाई सचेत र जानकारी गराउनका लागि वडास्तरमा सहजीकरण समिति गठन गरिएको हुन्छ । त्यसमा वडाका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि हुन्छन् । नागरिक दायित्वलाई संस्थागत ढङ्गले जनगणना प्रयोजनमा प्रयोग गर्नका लागि केन्द्रमा राष्ट्रिय जनगणना समन्वय समिति गठन हुन्छ । समितिमा नागरिक समाजका प्रतिनिधि, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, जिल्ला समन्वय समिति महासङ्घजस्ता जनप्रतिनिधिमूलक संस्थाहरूको प्रतिनिधित्व रहन्छ । यसैगरी, गैरसरकारी संस्था, सहकारी र मानिसको ठूलो सहभागिता हुने अन्य क्षेत्रहरू पनि जनगणना प्रचार–प्रसारका महत्वपूर्ण निकाय हुन् । यस्ता संस्थाले कम्तीमा आफ्ना सदस्यहरूलाई मात्र जनगणनाका बारेमा जानकारी गराउने हो भने नागरिक यसप्रति सचेत रहनेछन् । गणनामा आफू पनि सहभागी हुने र अरूलाई पनि सहभागी हुन प्रेरित गर्ने तथा गाउँटोलमा कोही छुटेको थाहा भएमा गणनामा संलग्न हुन सूचित गरे सही तथ्याङ्क ल्याउनका लागि नागरिकले निर्वाह गर्नुपर्ने भूमिका पूरा भएको मानिनेछ ।

चौथो, गलत विवरण दिन प्रभाव र दबाब दिने वा गलत गतिविधि वा अभियान चलाउने कार्यको निगरानी र निरुत्साहीमार्फत नागरिकको दायित्व र कर्तव्य पूरा गर्न सकिन्छ । जनगणनालाई नकारात्मक असर पुग्नेगरी वा उत्तरदाताहरूको आधारभूत व्यक्तिगत विवरण तोडमरोड गर्ने गरी कसैले पनि कार्यक्रम, लेख, रचना, अभियान, प्रचार–प्रसार आदि सञ्चालन गर्नु, गराउनुहँुदैन । आमनागरिक तथा समुदायलाई निष्फिक्री भई गणकले सोधेका प्रश्नको उत्तर दिन प्रोत्साहित गर्नुपर्छ । विगतमा भएका कमीकमजोरीका बारेमा चर्चा गर्न सकिन्छ, त्यसलाई सुधार पनि गर्नुपर्छ तर यसभन्दा फरक तरिकाले जनगणनाका आधिकारिक सन्देशबाहेकका कुनै पनि किसिमका दुष्प्रचारचाहिँ गरिनुहुँदैन । नागरिकले गणक तथा सुपरीवेक्षक, जोसुकै व्यक्ति वा सङ्घ संस्था होऊन्, उनीहरूको गलत कामको पहरेदारको भूमिका निर्वाह गरी आफ्नो दायित्व र कर्तव्य पूरा गर्न सक्छन् ।

जनगणनाको अपनत्व
जनगणना किन र के फाइदाका लागि भन्ने आममानिसले सोध्न सक्छन् । व्यक्ति र व्यक्तिमा रहेको विशेषताको आँकलन नगरी बनाइएका योजनाहरू प्रायः असफल नै हुन्छन् वा केही प्रभावहीन हुन सक्छन् । खासमा जनगणनाबाट आएको तथ्याङ्कजस्तै जनसङ्ख्या, महिला, पुरुष र अन्य लिङ्गीको सङ्ख्या, मानिसको उमेर, जातजाति, धर्म, भाषा, अपाङ्गता भएका व्यक्तिको सङ्ख्या र प्रकार, पेशा, व्यवसाय, घरायसी सेवा सुविधा, बैङ्क तथा वित्तीय संस्थाको पहुँच, समुदायमा उपलब्ध भौतिक पूर्वाधार, सेवा तथा सुविधा, विपद्को अवस्था आदि जस्ता सूचना यस जनगणनाबाट सङ्कलन गर्ने योजना रहेको छ । यिनै सूचनाका आधारमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले विकास निर्माण, समावेशिता, समुदायको पहिचान, कुनै सेवा क्षेत्रको विस्तार आदि जस्ता नीतिहरू बनाउँछन् । जसले गर्दा सही तथ्याङ्क उपलब्ध गराइयो भने विकास निर्माणका सही र तथ्यगत योजना बन्ने भए गलत तथ्याङ्क भयो भने योजना पनि गलतै बन्ने भए । गलत तथ्याङ्कमा आधारित योजना आजसम्म कहीँ पनि सफल भएको देखिँदैन । त्यसकारण आफ्नो गाउँठाउँको भौतिक, सामाजिक तथा आर्थिक विकास निर्माणलाई प्रभावकारी बनाउन, आफ्नो उपस्थिति नीति निर्माण तहमा प्रभावकारी बनाउनका लागि पनि हरेक नागरिकले जनगणनामा आफ्नो अपनत्व लिन र आफ्नो दायित्व र कर्तव्य छ भन्ने कुरा बिर्सनुहुँदैन ।

(लेखक केन्द्रीय तथ्याङ्क विभागका जनगणना निर्देशक हुनुहुन्छ ।)