पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बहुअर्वाभाठामा कात्तिक ६ गते भएको झडपको क्रममा मृत्यु भएका मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाईको माग गर्दै आज नेकपा पर्साद्वारा वीरगञ्जमा जुलुस प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाइएको छ । 

नेकपा विन्दवासिनी गाउँ कमिटीका अध्यक्ष विक्रम चौरसियाको नेतृत्वमा आएको टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

विगत ६ दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना तथा पुतला दहन गर्दै आएका नेकपाका नेता, कार्यकर्ताहरुले आज वीरगञ्जमा विरोध जुलुस समेत प्रदर्शन गरेका थिए ।

ज्ञापन पत्रमा हत्यामा संलग्न अभियुक्तलाई कडा कारवाही गर्नुपर्ने, स्व. चौरसियालाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तलाई कारवाहीको माग गरिएको छ । 

ज्ञापनपत्रमा नेकपा प्रदेश २ को निर्देशन अनुसार शपथग्रहण कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा केही व्यक्तिहरुले बाँसको भाटा लिएर झन्डा जलाउने र ब्यानर च्यात्ने क्रममा रोक्न जाँदा चौरसियाको टाउकोमा बाँसको भाटाले हिर्काउँदा उनको मृत्यु भएको उल्लेख छ । 

६ दिनदेखि नारायणी अस्पतालको शवगृहमा चौरसियाको शव रहेको अवस्थामा पिडित परिवारको किटानी जाहेरी सहितको निवेदन प्रहरीले दर्ता नगर्दा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरिएको छ ।

निवेदकले दिएको जाहेरीबाट प्रहरीले दबाब दिएर आफूखुशी नाम हटाउन र राख्न लगाइ सच्याएर ल्याउन भनेपछि अहिलेसम्म मुद्दा दर्ता नगरिएको ज्ञापनपत्रमा उल्लेख छ । माथिल्लो दबाब भन्दै पर्सा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको ज्ञापनपत्रमा उल्लेख छ । 

तीन दिन अगाडि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पीडित तथा राजनीतिक दलबीच भएको छलफल अनुसार प्रहरी अहिले आएर दुःख दिने काम गरेको उल्लेख गरिएको छ । 

ज्ञापनपत्र बुझाउन टोलीमा नेकपाका जिल्ला इन्चार्ज रामचन्द्र साह, पूर्व सांसद विचारी यादव, नेकपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारी, नेकपाका नेता शम्भु गुप्ता, बालगोपाल थापा, मनोज चौधरी, अरुण यादव लगायतको उपस्थिति थियो ।