पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मापदण्ड विपरित ओभरलोड बोक्दै मालबाहक गाडी

रुपन्देही- रुपन्देहीको बेलहिया नाका हुंदै दैनिक ४ सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी मालबाहक गाडीले ओभरलोड बोक्ने गरेका छन् ।

यो मार्गको क्षमता बढीमा ३०।२ टन मात्रै हो । तर यो नाकाबाट भित्रिने मालबाहक गाडीले १२० टनसम्म ओभरलोड बोक्ने गरेको व्यापारिक मार्ग आयोजनाको रेकर्डमा छ । ओभरलोडकै कारण नेपालकै नमूना मानिएको बेलहिया–बुटवल व्यापारिक मार्गको सडक धुजाधुजा भएको डिभिजन सडक कार्यालय रुपन्देहीका प्रमुख जयलाल मरासिनी बताउनुहुन्छ ।

कम्तिमा आठ वर्ष पुनःमर्मत गर्न नपर्नेगरी डिजाइन गरेर निर्माण भइरहेको भनिएको सडक निर्माण सम्पन्न नहुंदै पुनर्निर्माण गर्नुपरेको छ । सडक लामो समय टिकाउन ओभरलोड नियन्त्रण वा यसको पुनःडिजाइन गरी निर्माण गर्ने मात्रै विकल्प देखिएको आयोजनाका इन्जिनियर शुभेच्क्षा सारुले जानकारी दिनुभयो ।

ओभरलोड बोक्ने मालबाहक गाडीबाट जरिवाना काट्दै निर्वाध चल्न दिइएको छ । जरिवानाकै भरमा ओभरलोड भएका गाडी छाडिंदा सडक जीर्ण बनेको हो । प्रहरीले भने अधिकांश गाडीहरु पोल्ट्री गर्न नमिल्ने भएकाले छाड्नुपरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रवीण पोखरेलले बताउनुभयो ।

अस्फाल्ट क्रंकिट प्रविधि प्रयोग गरी २०६९ सालबाट निर्माण सुरु भएको व्यापारिक मार्ग विस्तार अझै सम्पन्न भएको छैन । तर काम नसकिंदै पुनर्निर्माणमा आयोजनाले १० करोड ३५ लाख रुपैयांभन्दा बढी खर्च गरिसकेकाले सम्बनिधत निकायले समयमै ध्यान दिन जरुरी छ ।