पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सल्यानका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढ्दो

radionepal

दीपक शर्मा, सल्यान । सल्यानमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ । 

आम नागरिक सचेत बन्दै जानु तथा सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए वापत प्रोत्साहन भत्ता दिन थालेपछि सल्यानमा सुरक्षित सुत्केरी सेवा लिने महिलाहरुको संख्या बढेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गर्भवति महिलाहरु मध्ये अधिकांश महिलाले सुरक्षित सुत्केरी सेवा लिन थालेका छन् ।

विगतमा घरमै सुत्केरी हुने महिलाहरु पछिल्लो समय स्वास्थ्य संस्थाबाट सुरक्षित सेवा लिन थालेका हुन । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा ३ हजार ७ सय ६९ जना महिलाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुती सेवा लिएका छन् । जिल्लाभरका विभिन्न प्रसुती सेवा सञ्चालित स्वास्थ्य संस्थाहरुबाट उनीहरुले सेवा लिएका हुन । जसमा ९२ जना महिलाको शल्यक्रिया मार्फत प्रसुती गराइएको छ ।

एक वर्षको अवधिमा जिल्ला अस्पताल सल्यानबाट मात्रै १ हजार ४ सय ९९ जनाले प्रसुती सेवा लिएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिए । 

नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेको उनको भनाई छ । घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने खतराबाट सल्यानका महिलाहरु जोगिएको डिसीले बताए ।

आर्थिक बर्ष २०७५–०७६ मा जिल्लाभर ३ हजार ६ सय ४ जना महिलाले स्वास्थ्य संस्थामा नै गएर प्रसुती सेवा लिएका थिए । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थामा जाने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।