पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालीमाटी गाउँपालिकाका कृषकहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित

दीपक शर्मा, सल्यान । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाका कृषकहरू बेमौसमी तरकारी तर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानी र कम जमिनमा  मनग्य आम्दानी गर्न सकिने भएपछि कृषकहरू बेमौसमी तरकारी तर्फ आकर्षित हुन थालेका हुन् । 

मौसमी खेती भन्दा बेमौसमी तरकारी खेती गर्दा तरकारीले राम्रो मूल्य पाउने र बजारको पनि अभाव नहुने गरेको कालीमाटी गाउँपालिका २ की कृषक खुमा भण्डारी पंगालीले जानकारी दिनुभयो । 

मौसमी तरकारी खेती गर्दा विगतका वर्षमा वर्षभरिमा ५०, ६० हजार आम्दानी लिन पनि गाह्रो हुने गरेको तर बेमौसमी तरकारी खेती गर्न थालेपछि एक वर्षको बिचमा खर्च कटाएर २ लाख आम्दानी भएको किसान पंगालीले बताउनु भयो । 

यस्तै बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएका कालीमाटी गाउँपालिका वडा नं. २ का कृषक पूर्ण प्रसाद खनालले तरकारी खेतीबाटै ५ जनाको परिवार पाल्दै आइरहेको बताउनु भयो । 

यस्तै सोही गाउँ निवासी ६४ बर्सिया इन्द्रलाल भण्डारीले आफ्नो घरमै पहल कार्यक्रम सञ्चालन भएपछि सबै गाउँका कृषकहरू आत्मनिर्भर मात्र नभई राम्रो आम्दानी गर्न थालेको बताउनु भयो ।