वीरगञ्जमा पर्सा, बारा र रौतहटका १४ जनामा कोरोना संक्रमण पुष्टि

ध्रुब अधिकारी, वीरगञ्ज । वीरगन्ज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा पर्सा, बारा र रौतहटका गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सा र बाराको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ७६ जनाको स्वाब परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सामा संक्रमण पुष्टि हुनेमा दुई जना नेपाली सेनाका जवान पनि रहेको छन् । नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । उनीहरु ३४ वर्ष र २४ वर्षका सेनाका जवान हुन् ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ मा दुई जना र वडा नम्बर ४, १०, १३ र १४ मा एक÷एक जना संक्रमण पुष्टि भएको छ । पर्साको ग्रामिण क्षेत्र बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ मा एक र कालिकामाई गाउँपालिका वडा नम्बर १ मा पनि एक जना संक्रमित भेटिएको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।
उता बाराको जितपुरसिमर उपमहानगरपालिका वडा नम्बर २ मा एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ७ मा एक जना र परवानीपुर गाउँपालिका वडा नब्मर ३ मा एक जनामा संक्रमण देखिएको चौरसियाले बताउनुभयो ।
रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर ९ का पनि एक जना संक्रमित भएका छन् ।
संक्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ५० वर्ष उमेर समुहको रहेका छन् भने उनीहरुको सिटि भ्यालु २० देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो ।