८५ उद्योग तथा व्यावसायिक फर्म कारबाहीमा
काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको जनाएको छ ।
तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका फर्मलाई कारबाही गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।
तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नापतौल यन्त्र बिक्रीस्थलमा नराखेको, नापतौलसम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेको लगायत कैफियत भेटिएको थियो ।
विभागले पाँचवटा फर्मलाई जिल्ला अदालतमा अभियोग दायर गरेको छ । स्टाण्डर्ड नाप र तौल ऐन, अनुरूप नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएका फर्ममाथिको कारबाहीलाई तीव्र बनाइएको विभागले जनाएको छ ।