पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा तीब्र रुपमा  कोरोना संक्रमण बृद्धि

radionepal

गुरमुरत यादव, बाँके। बाँकेमा खुलेआम स्वास्थ्य सुरक्षाको मापदण्ड अटेरी बढ्दै गएपछि कोरोना संक्रमणले झनै तिब्रता पाएको छ । यसले दशैं पर्वलाई अझ सतर्कतापूर्वक मनाउनुपर्ने सन्देश दिएको छ ।

त्यसक्रममा मंगलवार यता ३ दिनमा मात्र झण्डै पौने २ सय जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, मंगलबार एकैदिन बाँकेका ७४ जनामा बुधवार ३८ जना तथा आज बिहिवार ६६ जना गरि १ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । 
     
उनका अनुसार, मंगलबार बाँकेका विभिन्न स्थानका २६ महिला र ४८ पुरुष गरी ७४ जनामा कोरोना संक्रमण देखिएको थियो भने बिहीवार गरिएको परीक्षणमा बाँकेका ४४ र अन्य जिल्लाका २२ जना गरि ६६ जनामा  कोरोना भाईरस संक्रमण देखिएको उल्लेख गरीएको छ । 
    
भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६०९ जनाको नमुना परिक्षण गरीएकोमा ३ हजार ३९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
     
पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । लकडाउन खुलेपछि होटल, रेष्टुरेन्ट, उद्योग, यातायात लगायतका बजार क्षेत्र खुलेसङ्गै कोरोना संक्रमण पनि तिब्र रुपले वृद्धि भइरहेको हो । स्वास्थ्य सतर्कताको पालना र मापदण्ड अटेरी गर्नेहरुको अनुगमन समेत नहुँदा समस्या जटिल बन्दै गइरहेको देखिन्छ ।