वीरगञ्जमा पर्सा, बारा र रौतहटका ३५ जनामा कोरोना संक्रमण पुष्टि

ध्रुब अधिकारी, वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा पर्सा, बारा र रौतहटका गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।
पर्सा र बाराको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको १ सय ७५ जनाको स्वाब परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा पर्साका १७, बाराका १६ र रौतहटका २ जनासहित थप ३५ जना रहेको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । पर्सामा १ सय २९ जनाको स्वाब परीक्षण गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा तिन जना, वडा नम्बर ४, ६, ११ र १५ मा दुई÷दुई जना, र वडा नम्बर ५, १२ र २४ मा एक÷एक जना संक्रमित थपिएका छन् ।
त्यसैगरी पोखरिया नगरपालिका वडा नम्बर १ मा एक जना र पर्सागढी नगरपालिका वडा नम्बर ८ र १३ मा एक÷एक जनामा संक्रमण देखिएको छ ।
उता बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना, निजगढ नगरपालिकाको विभिन्न वडाका १३ जना र कोल्भी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ मा एक जना र फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ मा एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।
थपिएका संक्रमितको उमेर समुह ८ वर्षदेखि ७६ वर्षसम्म रहेको छ । उनीहरुको सिटि भ्यालु १७ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो ।