पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालो वजारी नियन्त्रण गर्न महेन्द्रनगरमा बजार अनुगमन सुरु

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बजार अनुगमन सुरु गरेको छ। चाँडपर्वको समयमा गुणस्तरहीन खाद्यवस्तुको बिक्री र कालोबजारी बढेको गुनासो पछि प्रशासनले बजार अनुगमन सुरु गरेको हो।

महेन्द्रनगर बजार क्षेत्रका तरकारी र खाद्यान्न पसलहरुमा अनुगमन गरिएको छ। महेन्द्रनगर बजारको गल्ली नं. ४ मा रहेको न्यू पोखरा फ्रुट सेन्टरमा लुकाएको अवस्थामा तीन बोरा प्याज बरामद भएको छ।

सोहि पसलको भीमदत्त नगरपालिका–५ बनगाउँस्थित गोदाममा राखेको थप साढे ३ क्विन्टल प्याज पनि बरामद गरेको छ।

पसल सञ्चालकलाई पनि ५ हजार जरिवाना गरिएको छ। बजारमा कालोबजारी बढ्यो भनेर धेरै गुनासो आएकोले अनुगमन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले वताउनु भएको छ । उहांले कालोबजारी गर्नेलाई न्यूनतम ५ हजारदेखि ३ लाख रुपैयासम्म अनुगमन स्थलमै जरिवाना गरिने बताउनु भएको छ ।

अनुगमन टोली परिचालन भएपछि बजार व्यवस्थित हुनुका साथै कालोबजारी गर्नेलाई मुद्दा समेत चलाइने प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भएको छ ।

जिल्लाभरिका ठुला तथा साना सबै बजारमा नियमित रुपमा अनुगमन गरिने उहांको भनाई छ। अनुगमन टोलीमा प्रशासकिय अधिकृत कल्पना भट्ट, कृषि ज्ञान केन्द्र, खाद्य तथा गुण नियन्त्रण कार्यालय, भीमदत्त नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका प्रतिनिधिहरु रहेका छन्।