पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राखेपको बोर्ड बैठक दशैंपछि मात्र बस्ने

radionepal

अजय बम, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक दशैंपछि मात्र बस्ने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै बोर्ड बैठक दशैंपछि मात्र बस्ने भएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संख्या धेरै भएकाले दशैं अघि बोर्ड बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो ।

खेलकुद ऐन अनुसार परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्ष तथा खेलकुद मन्त्रीसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना बैठक हुनु ७ दिनअघि सबै सदस्यलाई पठाउनुपर्ने उल्लेख छ ।

बोर्डले मुख्य रुपमा परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने ऐनमा उल्लेख छ । ऐन कार्यान्व्यनमा आएको झण्डै ४ महिना बित्न लाग्दा समेत बोर्ड बैठक बस्न सकेको छैन । 

बोर्ड बैठकको ढिलाईले परिषद्को कार्यकारी समिति निर्माणदेखि वार्षिक कार्यक्रम तथा बजेट समेत पास हुन सकेको छैन । नयाँ ऐनले राखेप सञ्चालनको जिम्मेवारी ७ सदस्यीय कार्यकारी समितिलाई दिएको छ ।