पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिन्चोकमा ‘चोर र पुलिस’

radionepal

चिरञ्जीवी मास्के, दोलखा । अग्लिएका पहाडहरूमा सुईईई सुईई...... चिसो बतासको सुसेली कम्ता आत्मीय लाग्दैन । पुष माघको मौसममा फुसफुसाउने हिउँका भुवादार छिर्काहरुले स्वस्थानी कथामा उल्लेख भएको कैलाश पर्वतको सौन्दर्यलाई साक्षात्कार गराई दिन्छ, कालिन्चोकको भू–बनोट र मौसमले । 

त्यसैले त सबैले भन्छन् – कालिन्चोक स्वर्गको एउटा टुक्रा हो । निर्देशक÷कलाकार राजु लामालाई पनि पहिलो पटक कालिन्चोक पुग्दा त्यस्तै लागेछ । अनि दोस्रो पटक आफ्नो निर्देशन तथा अभिनयमा बन्न लागेको ‘चोर र पुलिस’ को एउटा गीतको छायाङ्कन गर्न हेलिकप्टर नै लिएर कालिन्चोक पुगेका छन् लामा । 

कुन देश कि परी...... 

मिठो गीतको धुनसँग सेतो पहिरनमा कविता राय, राजु लामाको अङ्गालोमा बाँधिदा उर्वशीले विश्वामित्रको मन पगाले जस्तै लाग्छ सबैलाई । मुझादार सेतो पहिरनमा सजिएकी कविता साँच्चै परी जस्तै लाग्छिन् । 

म दोस्रो पटक कालिन्चोकमा चलचित्र सुटिङको लागि आएको हुँ निर्देशक÷कलाकार राजु लामाले भने – प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै होला । राजुले निर्धक्क भने – स्वर्ग पनि कालिन्चोक भन्दा पृथक् पक्कै छैन । 

आफ्नो निर्देशनमा बन्ने हरेक फिल्मको कुनै न कुनै दृश्य या गीत कालिन्चोकमा छायाङ्कन गर्ने राजु लामाको प्रतिबद्धता छ । त्यसैले त उनले ‘चोर र पुलिस’को शुभ मुर्हतनै कालिन्चोकमा गरेका छन् । 

‘चोर र पुलिस’को नायिका कविता राय कालिन्चोक पहिलो पटक पुगेकी हुन् । उनले नेपालमा कालिन्चोक जस्तो प्राकृतिक एवं धार्मिक महत्त्वको सौन्दर्य स्थल अन्यत्र नदेखेको बत्ताइन् । म पटक पटक कालिन्चोक आउन चाहन्छु – गीतको छायाङ्कन सकेर सेतो ज्याकेट लगाउँदै उनले भनिन् । 

राजु लामाले ‘चोर र पुलिस’ भन्दा पहिले ‘द मङ्गोलियन’, ‘वास्तु शास्त्र’ लगायतका चलचित्रमा निर्देशन गरिसकेका छन् । उनको ‘द मङ्गोलियन’ त प्रदर्शनमा समेत आई सकेको छ । 

‘चोर र पुलिस’ दोलखाको कालिन्चोकसँगै सिन्धुपाल्चोकसंगको सिमाना मुडे, सदरमुकाम चरिकोट लगायतका ठाउँमा छायाङ्कन गर्ने निर्देशक÷कलाकार राजु लामाले बताए । कालिन्चोकको सौन्दर्यताकै कारण पनि आफु कोरोनाको सङ्कटको बेलामा समेत हेलिकप्टर नै लिएर छाँयाङकनको लागि आएको राजुको भनाई छ ।   

कोरोना सङ्कट पछि लकडाउनकै अवधिमा समेत कालिन्चोकमा चार÷पाँच वटा फिल्म र म्युजिक भिडियोको छायाङ्कन भएको स्थानीयको भनाई छ । ‘चोर र पुलिस’को निर्माता रमेश खत्री, सङ्गीत विकास चौधरी र गायन सुरेश लामाको रहेको छ ।