पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना सक्रमितलाई प्रेस सङ्गठनको सहयोग

रामनारायण महतो, बर्दिवास । महोत्तरीका कोविड–१९ संक्रमण पुष्टि भएका संचारकर्मीलाई प्रेस सङ्गठन नेपाल प्रदेश २ ले सहयोग गरेको छ ।

प्रेस सङ्गठन नेपाल प्रदेश २ समितिले संक्रमण पुष्टि भएर ‘होमआइसोलेसन’ मा रहेका सञ्चारकर्मीलाई प्राथमिक स्वास्थ्य उपचार र पौष्टिक आहारका लागि १० हजार नगद सहयोग गरेको हो । सङ्गठनका प्रदेश २ संयोजक हिरालाल चौधरीले सङ्गठनको महेत्तरी जिल्ला संयोजक राजकरण महतोलाई शुक्रवार सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

महोत्तरीका आठजना सञ्चारकर्मीमा कोविड–१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये दुईजना संक्रमणमुक्त भईसक्नु भएको छ भने अन्य ६ जना अहिले ‘होमआइसोलेसन’ मा रही स्वास्थ्यलाभ गरि रहनु भएको सङ्गठन महोत्तरीका संयोजक राजकरण महतोले बताउनुभयो ।

अप्ठ्यारो समयमा सङ्गठनका प्रदेश २ संयोजक चौधरीले देखाउनु भएको चासोले स्वास्थ्यलाभ गरिरहेका सञ्चारकर्मीमा हौसला र आत्मबल थपिएको छ । “रकम धेरथोरको कुरा भएन, हामी अप्ठ्यारोमा परेका बेला सङ्गठनले सम्झेको छ” संक्रमणपछि ‘होमआइसोलेसन’ मै रही स्वास्थ्यलाभ गरिरहनु भएकी कान्तिपुरकर्मी सुनिता बरालले भन्नुभयो–, “यो सहयोगले हाम्रो सम्झना गर्नेछन् भन्ने सन्देशले उर्जा दिएको छ ।”

अहिले ‘होमआइसोलेसन’ मा रही स्वास्थ्यलाभ गरि रहेका जिल्लाका सञ्चारकर्मीको स्वास्थ्य अवस्था सामान्य उन्मुख रहेको प्रेस सङ्गठन नेपाल, महोत्तरीले जनाएको छ । यसैबीच सङ्गठनका प्रदेश–२ संयोजक चौधरीले आवश्यकता अनुसार थप सहयोगका लागि पहलकदमी गरिने बताउनु भएको छ ।