पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्नु महत्वपूर्ण कार्यभारः नवनियुक्त अर्थमन्त्री पौडेल

radionepal

अच्युत अर्याल, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कोरोनाबाट प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्नु नै आफ्नो महत्वपूर्ण कार्यभार हुने बताउनु भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रममा अर्थ मन्त्री पौडेलले विश्व अर्थतन्त्र नै प्रभावित भएको कोरोनाको असहज परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न कुनै कसर बाँकी नराखी निष्ठाका साथ कार्य गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले नागरिकको जीवनको सुरक्षा र आर्थिक गतिविधिलाई सँगै अघि बढाउनुपर्ने बताउनुभयो ।  

उहाँले बजेटको प्रभावकारी कार्यान्वयनबाट पुँजीगत खर्च बृद्धि गरी राजश्वको लक्ष्य पुरा गर्न रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोडदिनुभयो ।

अर्थमन्त्री पौडेलले आर्थिक सुशासन, वित्तीय अनुशासन र सदाचार जस्ता विषयमा कुनै संझौता नहुने प्रष्ट गर्नुभयो ।

अन्र्तराष्ट्रिय आर्थिक सहायता बृद्धि गरी, अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन सकेमा सरकारको नीति तथा कार्यक्रम र बजेटको लक्ष्य हासिल गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियान पुरा गर्न सकिने मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोवल माथि उकास्न कर्जाको सहजताका साथै आवश्यक नीतिगत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले कुनै कसर वाँकी नराख्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैक, वीमा समिति, धितोपत्र वोर्डजस्ता नियामक निकायलाई थप प्रभावकारी बनाइने मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

नेकपाका महासचिव समेत रहनुभएको अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।