पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टाक्सिन्दुडाँडामा टावर बनेपछि स्थानीय हर्षित

radionepal

सन्तोष राउत, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुका फुछिरिङ शेर्पाले खुशी हुँदै भन्नुभयो, हिजोसम्म फोन गर्न घर बाहिर डाँडामा निस्कनु पर्ने थियो, आजदेखि घरभित्रै बसेर ढुक्कले फोन गर्न पाइने भयो । घर माथिको टाक्सिन्दु डाँडामा नेपाल टेलिकमले टावर निर्माण तथा सञ्चालन गरेपछि उहाँजस्तै धेरै स्थानीयमा यस्तै खुशी छाएको छ । 

हालसम्म टेलिफोन चलाउन धेरै सास्ती खेप्दै आएको स्मरण गर्दै आफू निर्वाचित भएदेखि सम्बन्धित निकायमा यसकै लागि अधिकतम पहल गरेको वडा अध्यक्ष छोङ्बा लामा शेर्पाले बताउनुभयो । टावर सञ्चालनमा आएपछि जनता भन्दा आफू धेरै खुशी भएको भन्दै छिटो टावर निर्माणका लागि वडाले जनशक्ति समेत व्यवस्था गरिदिएको उहाँको भनाइ छ ।

टावर सञ्चालनका लागि टाक्सिन्दु डाँडामा पुग्नु भएका सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले जनताको दैनिक जीवनसँग जोडिएको सञ्चार सेवा सबै क्षेत्रमा पुर्याउन आफू लागिपरेको बताउनुभयो । विगत लामो समयदेखि टेलिफोन गर्न हैरानी खेपेका जनताको खुशीले आफू झनै खुशी भएको उहाँको भनाइ छ ।

उक्त टावरले खुम्बुपासाङल्हमू गाउँपालिकाको तल्लो क्षेत्रका भूभाग, माप्यदूधकोशी गाउँपालिकाका केही क्षेत्र र नगरपालिकाको वडा नं. १, २ र ४ मा काम गर्ने नेपाल टेलिकम सोलुखुम्बु शाखा प्रमुख मोहम्मद अकबर अलिले जानकारी दिनुभयो । गाउँगाउँमा टेलिकमका प्रभावकारी सेवा विस्तार भइरहेको भन्दै प्रमुख अलिले थुलुङदूधकोशी गाउँपालिकाको जुबु बलङ्गामा पनि टावर सञ्चालन भइसकेको र लिखुपिके गाउँपालिकाको गोली र नेचासल्यान गाउँपालिकाको थामडाँडामा पनि सञ्चालनको अन्तिम तयारी रहेको बताउनुभयो ।