पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दशैअघि मिडिया ऐन संशोधन गरी ल्याउने प्रदेश सरकारको तयारी

radionepal

ध्रुब अधिकारी, वीरगञ्ज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संचारकर्मीहरुको भावनालाई समेट्दै दशैअघि नै मिडिया ऐन संशोधन गरी ल्याउने बताउनु भएको छ । आज वीरगंजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो चाहना नहुँदा नहुँदै विभिन्न कारणले गर्दा मिडिया ऐन ल्याउन बाध्य भएको खुलासा गर्दै  सबैको समन्वयमा मिडिया ऐन दशैं अघि नै संशोधन गर्ने प्रयास भइरहको बताउनुभयो ।

उहाँले मिडिया ऐन ल्याउँदा पत्रकारका प्रतिनिधिसँग छलफल नगरेको होइन केही कुराहरु नमिलेको जस्तो भएर मात्रै अड्किएको हुँदा जति सक्दो छिटो पारीत गर्ने बताउनु भयो ।

मुख्यमन्त्री राउतले परिमार्जित रुपमा ऐन ल्याउने क्रममा ढिलाई भएको स्वीकार्दै पत्रकारको भावनालाई कुठराघात गर्ने प्रदेश सरकारको मनसाय नभएको स्पष्ट पार्नुभयो । 

उहाँले प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता अभियान लगायतका प्रभावकारी कार्यक्रम घोषण गरेको बताउदै अगामी दिनमा तराई–मधेशमा हुने महिला हिंसा,जातीय उत्पीडन,गरिबी निवारण, स्वरोजगार,खदकृषि र पर्यटनको विकासका लागी ठोस कार्यक्रम ल्याउने दावी गर्नु भयो ।