पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा कर्णालीको विवाद नयाँ मोडमा 

radionepal

आकाश तारा बयक, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले नयाँ मोड लिएको छ । संसदीय दलको बैठक बोलाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीबाट पदमुक्त गर्नुभएको छ । 

उहाँले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै शाहलाई पदमुक्त गरेर कर्णाली प्रदेश सांसद सिताकुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरिएको जानकारी दिनुभएको हो । कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्ध हिजोमात्र अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 

आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले सोमबार एक पत्र लेख्दै शाहलाई प्रमुख सचेतकबाट हटाएको जानकारी दिनुभएको हो । सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहीले यस्तो कदम चाल्नुभएको बताइउको छ । 

निवर्तमान प्रदेश सभा प्रमुख सचेतक शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताउनु भएको छ । उहाँले १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार नभएकाले प्रतिक्रिया दिनुभयो । 

उता मुख्यमन्त्री शाहीबाट प्रमुख सचेतकको जिम्मेवारी दिइएकी सीताकुमारी नेपालीले भने संसदीय दलको बैठक मंगलबार नबस्ने बताउनु भयो ।