पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मंगलसैनका ३ वडामा अनलाईनबाट व्यक्तिगत घटना दर्ता शुरु

radionepal

टेकराज भण्डारी, अछाम । अछामका मंगलसैन नगरपालिकाका ३ वडामा अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । 

नगरका वडा नम्बर ४, ५ र ६ मा व्यक्तिगत घटना दर्ता कार्य अनलाईन प्रणालीबाट सुरु भएको हो । असोज १ गते वडानम्वर ४ बाट औपचारीक रुपमा अनलाईन घट्ना दर्ता कार्य सुरु गरिएकोमा सोमबार वडा नम्बर ६ लाई नगरपालिकाको तेस्रो वडाका रुपमा प्रणालीमा जोडिएको नगरपालिकाले जनाएको छ ।

विद्युतिय शासन प्रर्बद्धनमा जोड दिने लक्ष्य सहित व्यक्तिगत घट्ना दर्ता कार्यलाई अनलाईन प्रणाली मार्फत गर्न लागिएको नगरप्रमुख पदम बोहराले बताउनु भयो ।

हाललाई ईन्टरनेटको पहुँच पुगेका वडामा अनलाईन प्रणाली मार्फत व्यक्तिगत घट्ना दर्ता कार्य गरिने र आगामी दिनमा अन्य वडामा पनि बिस्तार गरिने नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख पदमबहादुर बोहराले अथक प्रयासपछि वडानम्बर ४ वाट अनलाईन प्रणाली मार्फत घटना दर्ता सुरु गर्न सफल भएको र सम्भावना रहेका अन्य वडामा यो कार्य विस्तार गर्दै लैजाने बताउनु भयो ।

नगरमार्फत प्रवाह हुने सबै प्रकारका सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन अनलाईन प्रणाली प्रभावकारी हुने उहाँको विश्वास छ । 

वडा नम्बर ६ मा अनलाईन प्रणालीमा पहिलो विवाहदर्ता भएको र वडा नम्बर ६ का धनिराम भण्डारी र दुर्गा कुमारी जैसीलाई वडा अध्यक्ष जनकराज भण्डारीले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

व्यक्तिगत घटना दर्ता ऐन २०३३ आइसकेपछि मात्र नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली २०३४ सालदेखि शुरु भएको थियो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेको छ ।