पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

असोज १५ बाट सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाडौं । सरकारले दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

कम्पनीले थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गर्ने कम्पनीका कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी दुई कम्पनीलाई काठमाडौैँ उपत्यकामा पाँच–पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको सुवेदीले जानकारी दिनुभयो ।

यस अवसरमा दुबै कम्पनीले एक अर्काले उत्पादन गरेका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन् । साल्ट ट्रडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पाेरेशनले जनाएको छ ।

कम्पनीले दशैंँका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा किन्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।

ती स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा एक एक हजार मात्र ल्याउन लागेको सुवेदीले जानकारी दिनु भयो ।